थर्मोगन नहुँदा जुम्लाका स्वास्थ्यकर्मीले  जोखिम मोलेर ज्वरो नाप्दै छन्

 चैत २१, २०७६ शुक्रबार १५:४९:२२ | नेत्र शाही
unn.prixa.net

खलङ्गा –कोरोना रोगथामको लागि प्रयोग गरिने इन्फ्ररेड थर्मोमिटर नहुँदा जुम्लामा समस्या भएको छ । इन्फ्ररेड थर्मोमिटर नहुँदा स्वास्थ्यकर्मीहरु अहिलेसम्म जोखिम मोलेर साधारण थर्मोमिटरले ज्वरो नाप्न बाध्य भएका छन् । 

इन्फ्ररेड थर्मोमिटर कुर्दाकुर्दा ‘लकडाउन’को ११ दिन बितिसक्यो तर आफूहरुले अझै थर्मोमिटर नपाएको जुम्लाका स्वास्थ्यकर्मीहरुको गुनासो छ । 
थर्मोमिटर नहुँदा क्वरेण्टीन र हेल्थ डेक्समा काम गर्ने स्वास्थ्यकर्मीहरुले समेत समस्या भोगिरहेका छन् । 

पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले हालसम्म भारतबाट आएका ३८ जना र नेपालकै विभिन्न सहरबाट आएका दुई सयभन्दा बढी मानिसको स्वास्थ्य जाँच गरेको बताउनुभयो ।

‘इन्फ्ररेड थर्मोमिटर नहुँदा डर लागिरहेको छ । सरकारले सबै सुविधा दियो । तर थर्मोमिटर र पीपीई नहुँदा समस्या भएको छ,’ बुढ्थापाले भन्नुभयो । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराका अनुसार गाउँपालिकाले आफ्नै लगानीमा पीपीई ल्याउन लागेको बताउनुभयो ।  

उहाँले थर्मोस्क्यान नहुँदा सामान्य थर्मोमिटरले जाँच गर्ने र स्प्रिट तथा सेनिटाइजरको प्रयोग गरेर फेरि प्रयोग गर्ने गरिएको बताउनुभयो । त्यसैगरी स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले धेरै प्रयास गरेपनि ईन्फ्ररेड थर्मोमिटर नपाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा जम्मा दुईवटा थर्मोमिटर आएकोमा एउटा नाग्मा हेल्थ डेक्स र अर्को गुठिचौर हेल्थ डेक्सलाई उपलब्ध गराइएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया