उडान प्रभावित हुँदा एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल

 चैत २२, २०७६ शनिबार १०:३३:५ | रासस
unn.prixa.net

काठमाण्डौ - एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको एक हप्ता भए पनि विमान उडान प्रभावित हुँदा नेपाल आउन सकेको छैन।

एनआरएनए कोरियाले शनिबार जानकारीपत्र निकालेर नेपाल पठाउने भनिएको चार हजार किट विमान उडान तालिकाको अनिश्चितताका कारण नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जानकारी गराएको छ ।

साथै कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने पनि जनाएको छ ।

जानकारी पत्रअनुसार चार हजार किटबाहेक अन्य स्वास्थ्य सामग्री दुई हजार पीपीई सेट, १० हजार एन–९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार नेपाल पुग्ने गलेस, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोब्स र ५०० थर्मोमिटर चाहिँ आजै चीनको ग्वान्जाउमा रहेको नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाउने भएको छ ।

उक्त स्वास्थ्य सामग्री नेपाल एअरलाइन्सको विमान आगामी चार्टर्ड गरेका बखत नेपाल ल्याइनेछ । कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो ।

दुई हजार किट नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले केही दिनअघि कोरियामा रहेका नेपालीले प्रतिव्यक्ति एक किट सहयोग अभियान अन्तर्गत दुई दिनमै एक करोड ४० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया