मकवानपुरका तीन वटा पालिकामा घरघरै पुगेर ज्वरो जाँच

 चैत २२, २०७६ शनिबार ११:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - थाहा नगरपालिका, भिमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मीले नागरिकको घरघरमै पुगेर ज्वरो जाँच गरेका छन् । 

ज्वरो, रुघाखोकीका बिरामी आउनेबित्तिकै हेटौंडाका निजी अस्पतालका स्वास्थ्यकर्मी डराइरहेको समयमा तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर बिरामी जाँच गरेका हुन् ।

आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मनहरी गाउँपालिकाले घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको हो ।

लकडाउनका कारण गाडी नचलेपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् ।

वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरुलाई होम क्वरेण्टीनमा बस्न आग्रह र आवश्यक परामर्श दिइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । 
थाहा नगरपालिकाले पनि आफ्ना वडामा रहेका स्वास्थ्यकर्मीलाई बिरामी जचाउनका लागि गाउँगाउँमा परिचालन गरिएको मेयर लवशेर विष्टले वताउनुभयो । 
यसैगरी भिमफेदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण गाउँमा नफैलियोस भनेर गाउँगाउँमा गएका छन् । 

गाउँपालिकाले भीडभाड हुने ९ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक औषधीसमेत छरेको छ । गाउँपालिकाले कोरोना सङ्क्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया