कोरोना सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ?

 चैत २२, २०७६ शनिबार ११:४६:५५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना देखिएको छैन । 

यी देशमा कोरोनाको परीक्षण नै नभएको हो वा सङ्क्रमित नै नभएको भन्ने यकिन छैन । तर कोरोना सङ्क्रमण फैलिएका देशको ट्रयाकिङ गरिरहेका विभिन्न संस्थाको सूचीमा यी देश कोरोनामुक्त छन् । चीन, अमेरिका, अस्ट्रेलिया, इटली, स्पेन र भारतसहित विश्वका शक्ति राष्ट्र कोरोनाले आक्रान्त हुँदा यी देशमा कोरोनाको प्रभाव शून्य छ । अहिलेसम्म कोरोना नदेखिएका देशहरुः

उत्तर कोरिया 

उत्तर कोरिया कोरोना सङ्क्रमणको उद्गम थलो चीनसँग सीमा जोडिएको देश हो । चीनसँग सीमा जोडिएको अर्को देश दक्षिण कोरिया कोरोनाले आक्रान्त हुँदा उत्तर कोरिया भने कोरोनामुक्त रहेको त्यहाँको सरकारको दाबी छ । यसको सीमासँग जोडिएका रुस र जापानसमेत कोरोना प्रभावित छन् । 

तुर्केमेनिस्तान 

तुर्कमेनिस्तान मध्य एसियामा रहेको देश हो । सन् १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्यको रूपमा सोभियत सङ्घको एक घटक गणतन्त्र थियो । यसको दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा इरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाकिस्तान र पश्चिममा केस्पियन सागर पर्छ । 

दक्षिणी सुडान 

पूर्वी अफ्रिकी देश दक्षिणी सुडान भूपरिवेष्ठित देश हो । यस देशको पूर्वमा इथियोपिया, पश्चिममा मध्य अफ्रिकी गणराज्य, उत्तरमा सुडान तथा दक्षिणमा केन्या, युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो छन् । 

साओ टोम एण्ड प्रिन्सिपल्स 

साओ टोम एण्ड प्रिन्सिपल्स अटलान्टाको भूमध्य रेखा र गिनीको खाडीसँग जोडिएको देश हो । यो टापु अफ्रिकाको दोस्रो सानो देश हो । यसको दक्षिण पश्चिममा अन्नोबान टापु, उत्तर पूर्वमा बायोको (इक्वेटोरियल गिनीको दुवै भाग) पर्छन् ।

सोलोमन टापु

सोलोमन द्वीप पपुवा न्युगिनीको पूर्वमा मालेनेसियामा झण्डै एक हजार द्वीप समेटिएको देश हो । करिब २८ हजार ४ सय वर्ग किलोमिटरमा फैलिएको यो देशको राजधानी गुआडल क्यानल द्वीपमा रहेको होनिअरा हो । 

भानुआतु 

भानुआतुु देश प्रशान्त महासागरमा पर्छ । यहाँ इसाई धर्मका मानिस बस्छन् । ६ प्रान्तमा विभाजित यो देशमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ ।

कोमोरोस 

यो देश हिन्द महासागरमा रहेको एक अफ्रिकी देश हो । यो देशको सीमासँग कुनै देश जोडिएको छैन । तर यो मोजाम्बिक र तान्जानियाको नजिकै अफ्रिकी तटमा पर्छ । 

लिसोथो 

लिसोथो चारैतिरबाट दक्षिण अफ्रिकाले घेरिएकाे छ । यसकाे राजधानी मसेरु हो । 

ताजकिस्तान 

ताजकिस्तान एसिया महादेशमा पर्ने भूपरिवेष्ठित देश हो । यो अफगानिस्तान, उज्वेकिस्तान, किर्गिजिस्तान र चीनले घेरिएको छ । तर यो देशमा आजसम्म कोरोना सङ्क्रमण देखिएको छैन । 

यमन 

यमन पश्चिम एसियामा रहेको एउटा अरब देश हो । साउदी अरबको दक्षिणमा पर्ने यमनको पश्चिममा ओमन पर्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया