‘परदेशी आमालाई मन बाँध्न गाह्रो रहेछ’

 चैत २२, २०७६ शनिबार १५:३५:१६ | मेरो कथा मेरो भोगाई

मन्जु कँडेल भट्टराई,पाल्पा /हाल, यूएई ।

कोरोनाको कहरले अहिले संसारभरका मानिसको अनुहारको हाँसो र मनको शान्ति खोसेको छ । हामी परदेशीको दिनचर्या पनि संसारका अरु मानिसको जस्तै छ । डर र पीर ।

म यूएईमा काम गर्छु । परदेशमा भए पनि सुरक्षा सतर्कता अपनाएको छु । कोरोनाको जोखिम भए पनि सुरक्षा सतर्कता अपनाएपछि आफू सुरक्षित छु भन्ने लागेको छ । तर आफू मात्र सुरक्षित भएर के गर्नु ? मन अशान्त छ । कोरोनाको सङ्क्रमण बढेको खबर सुन्दा त झन् डर लाग्छ । 

परदेशमा भए पनि यहाँको सरकारी निकायबाट पाएको सुबिधा सुरक्षा राम्रो छ । तर पनि आफ्नो देश, गाउँ र परिवार आँखा वरपर घुमिरहन्छ ।

यूएईमा नेपालीमा पनि कोरोना सङ्क्रमण देखिएको खबर सुनेर परिवार चिन्तित हुनुहुन्छ । मेरो पनि मनमा अनेक कुरा खेल्छन् । बुढी हुनुभएकी आमा र छोराछोरीको अनुहार आँखाभरी आउँछ । परदेशी आमालाई भावनात्मक रुपमा बलियो हुन गाह्रो छ ।

दिनमा धेरै पटक फोनमा र सामाजिक सञ्जालमार्फत कुराकानी भइरहे पनि केही असहज भएको छ । हुन त मजस्ता हजारौं दिदीबहिनी हुनुहुन्छ, अहिले परदेशमा । जो आफ्नो घरपरिवारबाट टाढा भएर उनीहरुकै सुखका लागि परदेशमा दुःखसँग एक्लै लडिरहनुभएको छ । उहाँलाई पनि यो दुःखमा नआत्तिनुहोस् भन्न चाहान्छ । 
मलाई त्यस्तो जोखिम छैन । म सुरक्षित छु । यही कुरा घर परिवारमा बुझाउन खोज्छु, तर कहिलेकाहीँ बोल्न पनि गाह्रो हुन्छ । मन भरिएर आउँछ । समय र परिस्थितीलाई बुझ्नुपर्छ त्यो मलाई थाहा छ । त्यसैले पनि अप्ठेरो परिस्थितीलाई सहज बनाउने कोशिस गर्छु । 

खान बस्न अघिपछिजस्तै सामान्य रुपमा नै पाएको छु । काम नियमित भइरहेको छ । लकडाउन भए पनि अभाव छैन । घरको काम भएकाले बाहिर निस्कन पर्दैन । मैले काम गर्ने घरका मानिस पनि अहिले घरबाटै काम गरिरहेका छन् ।

सबैजना घरमै हुँदा अझ दिन बिताउन सहज भएको छ । बाहिर ननिस्किए पनि साथीभाइसँग सामाजिक सञ्जालमार्फत नै कुराकानी गर्छु । दुःखसुखका कुरा साटासाट गर्छु । 

यो बेला परदेशमा डर छ । जोखिम पनि छ । तर म सबैलाई आग्रह यही गर्छु कि धैर्य गर्नुहोस् । आफ्नो परिवारलाई पनि म ठिक छु भनेर म्यासेज गर्नुहोस् । सरकारले जारी गरेको नियम पालना गर्नुहोस् । मैले त गरिरहेको छु । त्यसैले पनि म अलिकति ढुक्क छु । 

यो अप्ठेरो परिस्थितीमा आफू पनि बचौं र अरुलाई पनि बचाऔंं ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया