‘के सेक्युरिटी गार्डलाई चाहिँ कोरोना लाग्दैन ?’

 चैत २२, २०७६ शनिबार १७:४०:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सुर्खेतका कृष्ण केसीले दुई वर्ष भयो मलेसियामा सेक्युरिटीको काम गर्न थालेको । आफूले रोजेको काम गर्न पाउँदा उहाँ खुसी नै हुनुहुन्थ्यो । तर कोरोनाका कारण एकाएक संसारको अवस्था फेरियो ।

मलेसियामा पनि सङ्क्रमितहरु बढ्न थाले । सरकारले लकडाउनको घोषणा गर्‍यो । अत्यावश्यक सेवाबाहेक काम र कम्पनीहरु बन्द हुन थाले । तर सेक्युरिटी गार्डको भने काम उही रफ्तारमा चलिरहेको छ, पहिलेजस्तै । काम उही भए पनि समय फरक छ । न सुरक्षाका केही उपाय अपनाइएको छ, न त बिदा नै ।

कृष्ण प्रश्न गर्नुहुन्छ, ‘के मलेसियाका सेक्युरिटी गार्डलाई चाहिँ कोरोना लाग्दैन हो ?’ कृष्णलाई कहिलेसम्म जोखिम मोलेर काम गर्नुपर्ने हो भन्ने चिन्ता छ ।

मलेसियामै सेक्युरिटी गार्डको काम गर्ने हिमाल निश्चल पनि अरुलाई सुरक्षा दिने काम गर्नेहरु नै सुरक्षित छैनन् भन्ने गुनासो गर्नहुन्छ । ‘न मास्क न स्यानेटाइजर, पीपीई त कल्पनाभन्दा परको कुरा भइहाल्यो नि,’ निश्चल गुनासो गर्दै भन्नुहुन्छ, ‘जोखिम मोलेर काम गर्दिनँ भन्दा पनि कम्पनीले जबरजस्ती लगाइरहेको छ, धेरै मानिसको बीचमा काम गरिरहनु परेको छ, हाम्रो समस्या कसले सुन्ने ?’

ताप्लेजुङका पोष्टराज गुरुङको गुनासो पनि उस्तै छ । मलेसियामै सेक्युरिटी गार्डको रुपमा कार्यरत उहाँ भन्नुहुन्छ, ‘दूतावासले कि त हाम्रो सुरक्षाका लागि पहल गर्दिनु पर्‍यो कि त हाम्रो काम नै बन्द गरेर नेपाल फर्काइदिनु पर्‍यो, ज्यानको बाजी लगाएर कसरी काम गर्नु ?’

मलेसियामा मात्र हैन, यूएईमा पनि सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपालीले आफू असुरक्षित भएको गुनासो गरेका छन् । 

अरु कम्पनीमा कार्यरत श्रमिकहरु बिदामा बसे पनि आफ्नो काम गर्ने समय झन बढेको छ भन्नुहुन्छ यूएईमा सेक्युरिटी गार्डका रुपमा कार्यरत जीवन सुवेदी । कार्य अवधि १२ घण्टा पुगेको छ भने साप्ताहिक बिदा पनि पाउनुभएको छैन उहाँले । 

काम गर्नै भनेर परदेश गएको मान्छे । उहाँलाई काम गर्नुपर्‍यो भनेर हैन काममा हुने जोखिमले चिन्ता थपेको छ । 

‘सबैभन्दा अगाडि बसेर काम गर्नुपर्छ, हामीले यहाँ सुरक्षा दिएका छौं, तर खै हाम्रो सुरक्षाबारे कसले सोच्ला ?’ जीवन भन्नुहुन्छ, ‘जोखिम मोलेर काम गर्दा गर्दै केही भयो भने ।’

पहिलेपहिले आफ्नो कामलाई शानदार काम ठान्नुहुन्थ्यो बिक्रम दाहाल क्षेत्री । तर अहिले त्यही काममा उहाँ जोखिम देख्न थाल्नुभएको छ । यूएईमा सुरक्षा गार्डको काम गर्ने उहाँलाई कोरोनाको डरले भर लाग्न छाडेको छ । 

‘अहिले सुरक्षा गार्डलाई नै हरेक कुरामा प्रयोग गरिरहेका छन्, पासपोर्ट, आईडी जाँच गर्नेदेखि ज्वरो नाप्नेसम्मको काम सुरक्षा गार्डको हुन्छ, तर हामीलाई चाहिँ पीपीई छैन’ बिक्रम आफ्नो कार्य अनुभव सुनाउनुहुन्छ ।

कम्पनीले उहाँलाई सुरक्षाको नाममा सामान्य मास्क र स्यानेटाइजर दिएको छ । तर उहाँकै कतिपय साथीले आफ्नै् खर्चमा किनेर प्रयोग गर्न परेको उहाँ गुनासो गर्नुहुन्छ । 

बिक्रम भन्नुहुन्छ, ‘दिनमा सयौंलाई फेस गर्नपर्ने सेक्युरिटी गार्डलाई चाहिँ सुरक्षित हुनु पर्दैन र ? यसतर्फ नेपाल सरकारले पहल गरिदेओस् ।’

सर्मण भट्टराई पनि मलेसियामा रहेको दूतावासले सुरक्षा गार्डको सुरक्षाका लागि केही पहल गरिदिए हुन्थ्यो भन्नुहुन्छ । अरु क्षेत्रमा काम गर्नेलाई क्वारेण्टीनमा बस्दा त जोखिम छ भने अहोरात्र खटिने सुरक्षा गार्डको सुरक्षाको विषयमा दूतावासले सम्बिन्धत देशका सरकारसँग छलफल गरिदेओस् भन्ने उहाँहरुको चाहना छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया