कोरोना कहर : बालबालिकालाई आफूसँगै खेलाउनुस्

 चैत २३, २०७६ आइतबार ९:४९:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सरुवा रोग विशेषज्ञहरुले आफ्ना बालबालिकालाई अरु बालबालिकासँग खेल्न नपठाउन आग्रह गरेका छन् । लकडाउनका बेला पनि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई छिमेकका बालबालिकासँग खेल्न पठाउने गरेको भन्दै विशेषज्ञहरुले सचेत गराएका हुन् । 

बालबालिकाले कुनै पनि खेल खेल्दा व्यक्तिगत दुरी कायम गर्न नसक्ने र विभिन्न सतहमा छोएर हात नधोइकन अनुहार छुने भएकोले सरुवा रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका छन् ।

जोन्स हप्किन्स ब्लूमबर्ग स्कुल अफ् पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डाक्टर केरी अल्टहफले बालबालिकामा कोरोना भाइरसले निकै कम असर गरे पनि उनीहरुले भाइरस सार्न सक्ने भएकोले उनीहरुलाई खेल्न नपठाउन आग्रह गरेको बीबीसीले जनाएको छ । 

डाक्टर अल्टहफले सामाजिक दुरीको अर्थ असामाजिक हुनु नभइ बाहिर निस्केर छिमेकीसँग व्यक्तिगत दुरी कायम गर्दै कुराकानी गर्ने, फोन वा अनलाइनमा गफ गर्नुपर्ने तर बालबालिकालाई छिमेकमा वा घरबाहिर खेल्न पठाउन नहुने बताउनुभयो । उहाँले यस्तो बेलामा खेलस्थलमा नगर्इ बाहिर निस्किएर प्रकृतिमा रमाउन, हिँड्न, साइकल चलाउन र चित्रकला जस्ता सिर्जनात्मक काम गर्न दिनुपर्ने बताउनुभयो । 

टोरन्टो विश्वविद्यालयकी एन्जेला पाइलले बालबालिकालाई आफ्नो कल्पनाशीलता प्रयोग गरेर मनलाग्दो खेल खेल्न दिनु महत्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ । बालबालिकाहरू कल्पना गरिएका अवस्था र ठाउँमा खेल्ने हुनाले सम्भव भएमा त्यस्तो खेलका लागि उनीहरूले साथीहरूसँग फोन तथा भिडियो च्याटमा खेल्न सक्ने उनले बताइन् ।  

अरु मानिससँग दुरी बढाउनका लागि आफ्ना सन्तानको रुची अनुसार अभिभावकले नै खेलिदिनुपर्ने विज्ञहरुको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया