भारतीय गाउँमा कोरोना सङ्क्रमित भेटिएपछि रुपन्देहीका बासिन्दा त्रसित

 चैत २३, २०७६ आइतबार १०:५८:३० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाल भारत सीमा नजिकै कोरोना सङ्क्रमित भेटिएसँगै रुपन्देहीका बासिन्दा त्रसित बनेका छन् । यस्तै जिल्लामा उच्च सर्तकता अपनाउन थालिएको छ । 

मर्चवारी गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थानानजिकको गाउँमा ६ जना कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि सीमानाकाहरुमा कडाइ गर्न थालिएको छ । 

एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरी खटाइएको छ भने सीमानाकाहरुबाट पैदल हिँड्न समेत रोक लगाइएको छ । मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँका अनुसार कोरोना सङ्क्रमित भेटिएको भारतीय कोल्हुई गाउँ र मर्चवारी गाउँपालिकाबीच पैदल दूरी १० मिनेटको मात्रै रहेको छ ।

कोल्हुई गाउँ मर्चवारबासीको लागि प्रमुख बजार पनि हो । कोरोना सङ्क्रमितहरु दिल्लीको तबलिगी मरकजमा सहभागी भएर सीमावर्ती भारतीय गाउँहरुमा आएका छन् । 

छिमेकी भारतीय गाउँमा कोरोना सङ्क्रमित भेटिएपछि रुपन्देहीको मर्चवारदेखि बुटवलसम्मका बासिन्दा त्रसित बनेका छन् । कोल्हुई गाउँबाट तरकारी नेपाली बजारमा आउने भएकोले उच्च सर्तकता अपनाउनुपरेको जिल्लाका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रलाई सिल गरिएको बताउनुभयो । जो नेपाल छिरेका छन् उनीहरुलाई क्वरेण्टीनमा राखिएको र अब कसैलाई नेपाल प्रवेश गर्न नदिइने प्रमुख जिल्ला अधिकारी पन्थले भन्नुभयो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया