यो बिरानो परदेशमा आफू बचौं र अरुलाई पनि बचाऔं

 चैत २३, २०७६ आइतबार ११:४०:४२ | मेरो कथा मेरो भोगाई

छत्र खड्का/मोरङ, हाल मलेसिया, क्वालालम्पुर ।

कहिलेकाही‌ मन पीडाले भरिएपछि केही लेख्न मन लाग्दो रहेछ । विश्वमा लाखौँ मानिस कोरोनाबाट प्रभावित भएका छन् । करिब ७० हजारजतिको ज्यान गइसकेको छ ।

आजको दिनसम्म हाम्रो देश नेपालमा ९ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो सङ्ख्या नबढोस् भन्ने आशा छ । तर हामीहरुको लापरबाहीको कारणले कोरोना भाइरस नेपालका हरेक स्थानमा फैलिन सक्ने डर छ ।

पछिल्लो समय इटाली, फ्रान्स, पेरिस, अमेरिका जस्ता शक्तिशाली देशले त यसको नियन्त्रण गर्न सकेका छैनन् भने हामीलाई निकै मुश्किल हुनेछ । त्यही भएर यो सङ्क्रमण फैलिन नदिनु नै हामीहरुको लागि महत्वपूर्ण कुरा हो । यसमा सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने कोरोनाबाट नेपालले पनि निकै ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

म मलेसिया आएको दुई महिना भयो । अर्थात भनौँ, म मलेसिया आएलगत्तै कोरोनाको त्रास सुरु भयो । आफूले पहिले पनि काम गरेको कम्पनीमै काम गर्न भनेर म यस पटक मलेसिया आएको थिएँ । तर के थाहा यस्तो हुने हो भनेर । थाहा भए त पहिल्यै आउने थिएन नि । 

यहाँको पछिल्लो अवस्थालाई नियाल्दा, जिन्दगी केही पनि होइन रहेछ भन्ने लाग्छ । कोरोना भाइरसको अगाडि धनसम्पत्ति, रीसराग, घमन्ड के हो र ? यस कुराले मन भारी बनाउँछ । सयौँ पटक सोच्न बाध्य पार्छ । यही पीरले मरिन्छ होला जस्तो हुन्छ । तर अलिकति आशा बटुलेर बाँच्नु त छँदैछ नि । सास रहुञ्जेल हरेश खाएर त भएन नि ।

म एउटा कम्पनीमा सुरक्षा गार्डको काम गर्छु । मलेसियामा हजारौंलाई कोरोनाको सङ्क्रमण भए पनि हामी बाध्य भएर सुरक्षा गार्डको काम गरिरहेका छौँ । यहाँ हामीलाई न त लकडाउन, न त लकअप सधैंभरी काम । यस्तै छ अवस्था । शायद कोरोनाको सबैभन्दा बढी जोखिम हामीहरुलाई नै छ । आफ्नो ज्यानको माया कसलाई हुदैन र ? तर अरुलाई सुरक्षा दिन बसिसकेपछि त्यो माया पनि मार्नुपर्दो रहेछ । यहाँ त हाम्रो ज्यान भन्दा पनि कम्पनीका मालिकहरुलाई दामको मतलब हुन्छ । 

अब त मलेसियाको कोरोना अपडेटहरु हेर्न मन पनि लाग्दैन । हेरेपछि एक्कासी १०५ डिग्रीको ज्वरो आए जस्तै हुन्छ । अनि कहिलेकाहीँ त कुन दिनमा यो परदेश आइएछ भन्ने लाग्छ ।

तर फेरि लामो सास फेरेर एक गिलास पानी पिउँदै, म मात्रै छैन यो परदेशमा लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरु पनि छन् भने आपूmले आफैंलाई सम्झाउँछु ।
लकडाउनको बेला बाहिर हिँड्ने क्रममा मलेसियामा नेपाली नागरिकलाई प्रहरीले पक्राउ गर्यो भन्ने समाचार सुनिन्छ ।

यहाँ रहनुभएका सबैलाई यहाँको कानुन पालना गर्न आग्रह गर्न चाहन्छु । आखिर सरकारले भनेको माने पो हामीहरु पनि यो सङ्क्रमणबाट बच्न सक्छौँ । आफैले गरेको गलत कार्यले आफूलाई मात्र नभइ स्वदेशमा रहेका आफ्ना परिवारलाई पनि तनाव हुन्छ ।

अन्त्यमा सबैले यहाँको कानुनको पालना गर्नुहोला, कसैले पनि आत्मबल नघटाउनु होला भन्न चाहन्छु । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया