सीमा क्षेत्रमा थप कडाइ

 चैत २३, २०७६ आइतबार १२:५९:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – भारतमा रोजगारीका लागि गएका सुदूरपश्चिम प्रदेशका दुई जनामा कोरोना भारइरस (कोभिड १९) को सङ्क्रमण देखिपछि डोटीको स्थानीय प्रशासनले भारतबाट आउने नाकाहरुमा थप कडाइ गर्न थालेको छ ।

कैलाली र कञ्चनपुर जिल्लामा मात्रै चार जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोना भारइरसको सङ्क्रमण भित्रिन नदिनका लागि प्रशासनले सीमा क्षेत्रमा रोकिएका नेपालीहरुलाई भारतकै क्वरेण्टीनमा बस्न आग्रह गरेको छ । सीमा क्षेत्रमा रहेका भारतीय सरकारका जिल्ला अधिकारी (डीएम) सँग कुराकानी गरेर त्यहाँका क्वरेण्टीनमा बसेका नेपालीको सम्पूर्ण व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीले पत्राचार समेत गर्न थालेका छन् ।

भारतको क्वरेण्टीनमा बसेका बैतडीका दुई सय १० जनालाई खाने, बस्ने लगायतका व्यवस्था मिलाइ दिन दैनिक पत्राचार गरिएको र उनीहरुको अवस्था बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । त्यसैगरी कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारतीय सीमा क्षेत्रमा रहेका ४३ जना नेपालीलाई खाने, बस्ने व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र सीमा क्षेत्रमा भएका सशस्त्र प्रहरीबाट दैनिक पहल हुनुका साथै उनीहरुको अवस्था बुझ्ने कार्य भइरेहको बताउनुभयो ।

सीमा क्षेत्रका क्वरेण्टीनमा रहेका नागरिकलाई सीमा सिल भएका कारण अर्को व्यवस्था नभएसम्म तत्कालै स्वदेश ल्याउन सक्ने सम्भावना कम रहेको बोहराले जानकारी दिनुभयो । दार्चुला जिल्लाको सीमा क्षेत्रको धार्चुला क्वरेण्टीनमा राखिएका पाँच सय ५० भन्दा बढी नेपालीलाई खाने, बस्ने व्यवस्था भारत सरकारले नै गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुथान पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वरेण्टीनमा बसेकाहरुको दैनिक स्वास्थ्य जाँचदेखि अन्य काम सबै भारत सरकारले गर्दै आएको र लामो समय लकडाउन गरिए दुवै देशका अधिकारीहरुबीच समन्वय र सहकार्यमा थप व्यवस्था गरिने सहमति भएको बताउनुभयो । सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारीले भारतीय क्वरेण्टीनमा बसेका नेपालीलाई कुनै किसिमको समस्या नभएको दाबी गर्दै आउनुभएको छ । तर सीमा क्षेत्रका क्वरेण्टीनमा बसेका नेपालीहरु समस्या भएको गुनासो गर्दै आएका छन् । उनीहरु नेपाल आएर आफ्नै देशको क्वरेण्टीनमा बस्ने पहल गर्न माग गर्दै आइरहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • कपिल बोगटी

    April 5, 2020, 1:59 p.m.

    अब पालिका पालिका मात्र होइन वाड वाड का नाका पनि बन्द गरिनु पर्छ । नत्र भने यसले भयाभया रुप लिने छ

  •  0 Reply

तपाईको प्रतिक्रिया