अब बाँचिने भो सरकार !

 चैत २३, २०७६ आइतबार १५:५८:३७ | रासस
unn.prixa.net

दैलेख – कोरोना भाइरस अर्थात कोभिड -१९ को सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजारनजिकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा बादीको तीन दिनसम्म चुल्हो बलेन । 

तारालाई आफन्तले चामल, नुन र  तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् । सरकारले लकडाउन थप गरेपछि अन्य बादी समुदायले ताराको जस्तै पीडा भोग्नुपर्यो । 

जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । ‘केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्या हातमुख जोर्न पाइएन’, कलम बादीले पीडा सुनाउनुभयो । 

शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए । पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो । ‘चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार ’, ताराले खुशी व्यक्त गर्नुभयो ।

तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार बादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो । नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ । 

‘नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामीे घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो । लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाउँदा छाक टार्न समस्या भएको थियो, अब ढुक्क भयौंँ’ कलमले बताउनुभयो, । 

उमेरले तीन बीस कट्नुभएका धनकला बादी पनि औधि खुशी हुनुहुन्छ । ‘अब सरकारले अन्नपानी सबै दियो । घरमै बसीबसी खानू भनेको छ, त्यही गर्नुप¥यो ।

 सबै दिएपछि बाहिर निस्कने काम छैन’उहाँले भन्नुभयो,‘बन्द भएपछि बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भन्ने चिन्ताले निद्रासमेत लाग्न छाडेको थियो । अब कानमा तेल हालेर सुत्छौँ’, हाँस्दै धनकलाले भन्नुभयो  । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर जीविका चलाउने परिवारमा परेको पीडा खाद्यान्न वितरणबाट शान्त  हुने पत्रकार भक्तबहादुर शाहीले बताउनुभयो । 

नारायण नगरपालिका जस्तै अन्य १० पालिकाले लगत संकलन गरी खाद्यान्न वितरण गर्दा ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएकालाई सुविस्ता हुने र लकडाउनको पालन हुने उहाँले बताउनुभयो । 
 
लकडाउनको प्रत्यक्ष मारमा ज्यालामजदुरी गरेर खाने बादी समुदाय परेकाले  नगरपालिकाले शनिबार राहत वितरण गरेको  नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो । 

‘हामीले नगरपालिकाका ९५४ विपन्न परिवारलाई साबुन, दाल, नुन र २५ किलो चामल वितरण गरेका छौंँ । बाहिरी जिल्लादेखि काम गर्न आएका ५६ जनालाई राहतस्वरुप खाद्यान्न दिएका छौँ ।।

‘पहिलो चरणमा १५९ घरधुरीलाई खाद्यान्न दियौँ, बाँकी घरधुरीमा क्रमशः दिँदै जान्छौँ’, नगर प्रमुख खड्काले भन्नुभयो । खाद्य सामग्री हस्तान्तरण गर्दै खड्काले भन्नुभयो, ‘तपाईँहरु सबै लकडाउनको पालना गरी घरमै बस्नुहोला । घरआँगनमै स्थानीय सरकार भएकाले तपाईँहरु  भोकै बस्नुपर्दैन ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया