कोरोना भाइरसका कारण युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा

 चैत २३, २०७६ आइतबार १४:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसका कारण युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका छन् । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय यूरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । 

इटली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली देशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् ।

कोरोनाका कारण युरोपमा मानविय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासिय नेपालीमा थप सङ्कट निम्तीन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।

इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटलीका अध्यक्ष देव गुरुङले जानकारी दिनुभयो । 

गुरुङका अनुसार इटलीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताउनुभयो । 

आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । 

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा अहिलेसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो ।

फ्रान्समा कोरोनाको प्रकोप बढिरहे पनि त्यहाँ रहेका नेपालीहरुको अवस्था भने सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो ।

 युरोपमै सबैभन्दा धेरै नेपालीहरुको बसोबास रहेको बेलायतमा अहिलेसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टी भएको लण्डनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले  जानकारी दिनुभयो । बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया