घर फर्किए २ हजार ३ सय ७० विदेशी नागरिक

 चैत २३, २०७६ आइतबार १६:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका २ हजार ३ सय ७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो ।

यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् । 

काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरुकै देशले जहाज चार्टर गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ ।  

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको देश फर्काइएको बताउनुभयो । 

उहाँले देशका विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका एक हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजीकरण गरेको जानकारी दिनुभयो । विभिन्न देशका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका छन् ।  नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ ।

अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा दुई हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये एक हजार २०० स्वदेश फर्केको रेकर्ड छ । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ ।

नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउछन् । नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा ९भीषा० थपेर बसेको बताइन्छ । 

कोभिड–१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको देश फर्काइएको हो ।

सरकारले गत चैत ९ गतेदेखि वैशाख ३ गतेसम्म देशमा भित्रने सबै अन्तरराष्ट्रिय वायु सेवा कम्पनीको उडान बन्द गरेको छ । आन्तरिक उडान पनि बन्द गरिएको छ । यो अवस्थामा नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो ।

पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तब्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो । 

अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तब्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ । उक्त कम्पनीको जहाजले युरोपेली देश फ्रान्स, जर्मनीलगायत देशका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पु¥याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे । 

लकडाउनको आज १३औँ दिनको अवधिमा दिनहुजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन्  आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैैछ ।  नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ । त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो । तर पछिल्ला केही दिनको उडानमा घर फर्कने विदेशी नागरिकलाई अध्यागमनले ४५ अमेरिकीडलर जरिवाना लिएकोमा सम्बन्धित देशका नागरिकले गुनासो गरेका छन् । 

हिजो मात्रै चेकरिपब्लिकनको नेपालस्थित वाणिज्यदूतले अतिरिक्त शुल्का लिएकोमा पर्यटन बोर्डसँग गुनासो गर्नुभएको बुझिएको छ । अध्यागमन विभागले भने लामो समयसम्म रहेका विदेशी नागरिकलाई प्रवेशाज्ञा दस्तुर मात्रै लिएको तर पेनाल्टी शूल्क नलिएको स्पष्ट पारेको छ ।

पर्यटकका प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्राबधान रहेको विभागले उल्लेख गरेको छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ । 

के गर्दैछ अध्यागमन विभाग

मुलतः प्रवेशाज्ञा प्रक्रिया, विदेशी नागरिकको आवत जावतको सूचना व्यवस्थापनमा सक्रिय हुने अध्यागमन विभाग यतिखेर देश लकडाउनका कारण तुलनात्मकरुपमा कामको बोझ कम छ, तर पनि विभागको व्यस्तता उत्तिकै छ ।

विदेशी नागरिकलाई उनीहरुको देश फर्कनका लागि सहजिकरण गर्नेदेखि विदेशबाट आएका नेपालीमा कोभिड संक्रमण फेलापरेका व्यक्तिसँगै आएका अन्यको खोजीकार्यमा विभागले सक्रिय भूमिका निर्बाह गरिरहेको छ । विभागले स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीको सहकार्यमा उनीहरुको खोजी गरिरहेको हो ।

विभागका महानिर्देशक रमेशकुमार केसीले नेपालमा रहेका विदेशीलाई उनीहरुको देश फर्कनका लागि उद्धार उडानको सहजिकरणलगायत काम गरिरहेको राससलाई जानकारी दिनुभयो । महानिर्देशक केसीले भन्नुभयो,“अध्यागमन विभागले पर्यटकको सूचना व्यवस्थापनका साथै स्वदेश पर्कन चाहने विदेशीको उद्धार उडानका लागि सहजिकरण गरिरहेको छ ।

विदेशबाट फर्केर कोभिड संक्रमण फेला परेकोका नेपालीसँगै जहाजमा आएका अन्यको खोजी कार्यमा विभागले सक्रियता जनाएको छ ।” अध्यागमनलाई पनि नेपालमा के कति सङ्ख्यामा विदेशी नागरिक रहेका छन् भन्ने यकिन विवरण छैन । अहिले पनि १० देखि १२ हजारको सङ्ख्यामा विदेशी नेपालमा रहेको विभागको अनुमान छ ।

राससका लागि सिबी अधिकारीले तयार पार्नुभएको

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया