‘ज्वरो नाप्ने मेशिन छैन, कोरोना कसरी रोक्ने ? ’

 चैत २३, २०७६ आइतबार २१:१४:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जिल्लाका स्थानीय तहका प्रमुखहरुले संघीय र प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक सहयोग, समन्वय गर्न कन्जुस्याइँ गरेको आराेप लगाएका छन् ।

कर्णाली प्रदेशका तीन मन्त्रीको सहभागितामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा शनिबार बेलुका बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रमुखहरुले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसंग कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफूहरुसँग सामान्य स्वास्थ्य सामग्रीसमेत नभएको अवस्थामा शंकास्पद बिरामी आएमा कसरी काेराेना परीक्षण गर्ने भन्दै प्रश्न गरेका छन् ।

बैठकमा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले आवश्यक जनशक्ति र सामग्री नभएकाले कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउने बताए ।

‘हामीले हाम्रो तर्फबाट सकेको जति गरिरहेका छौँ, सचेतना जगाउने काम भएको छ, बाहिरबाट आएका व्यक्तिलाई क्वरेण्टीनमा राख्ने, निगरानीमा राख्नेदेखि ठाउँठाउँमा हेल्थडेस्क स्थापनासम्म गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘तर सदरमुकाममै रहेको नगरपालिकामा बिरामीको ज्वरो नाप्ने थर्मोमिटर समेत छैन।’ 

चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले प्रदेश र संघले आवश्यक बजेटसहित स्वास्थ्य सामग्रीको व्यवस्था गर्न नसकेको गुनासो गरे । कोरोना लक्षित बजेटको व्यवस्था गर्न र त्याे बजेट सिधै स्थानीय तहलाई पठाउने गरी कानुनी व्यवस्था मिलाउन उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयाे ।

यस्तै आठबीसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले अहिलेको तयारी कोरोना विरुद्धको रिहर्सल मात्र भएको र यो तयारीलाई हेर्दा जिल्लामा कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखियो भने थेग्न नसकिने स्थिति सृजना हुने भन्दै चिन्ता व्यक्त  गर्नुभयाे ।

बैठकमा स्थानीय तहहरुले राहत वितरणको मापदण्डमा एक रुपता हुनुपर्ने बताएका छन् । बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले केन्द्रको एउटा, प्रदेशको एउटा र स्थानीय तहको एउटा मापदण्ड नभई तीनै तहको एउटै मापदण्ड भएमा विपन्न नागरिकलाई राहतको व्यवस्था गर्न सजिलो हुने बताउनुभयाे ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन र त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले पनि स्थानीय तहमा कोरोना लक्षित तयारीलाई बलबुताले भ्याएसम्म गरिरहेको र विपन्न नागरिकहरुको पहिचान गरेर उनीहरुलाई राहतका प्याकेज घोषणा गर्ने सम्मको काम गरिरहेको बताउनुभयाे । 

बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गम्भिरताका साथ लागेको बताउनुभयाे ।

कोरोना लक्षित बजेट व्यवस्थापनमा प्रदेश सरकारले काम गरिरहेको भन्दै नआत्तिन उहाँले स्थानीय तहहरुलाई आग्रह गर्नुभयाे । त्यस्तै सामाजिक विकास मन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशभरिका कोही पनि नागरिक हालको अवस्थामा भोकै मर्न नपरोस भनेर सरकार गम्भीरताका साथ लागेको जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया