कोरोनाका कारण यस वर्ष गैँडा गणनाको सम्भावना टर्‍याे

 चैत २४, २०७६ सोमबार ११:१७:३४ | रासस
unn.prixa.net

चितवन – गैँडा गणनाको सबै तयारी पूरा भए पनि यस वर्ष गणनाको सम्भावना टरेको छ । गएको १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण स्थगित भएको हो ।

सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैँडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ।

चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैँडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक हप्तादेखि १० दिनसम्म लाग्छ । गएका वर्षहरुमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यस पटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो ।

गणनाका लागि एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरिएको छ । यसअघि नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया