पाठक खोज्दै सर्वोदय पुस्तकालय

 साउन १२, २०७५ शनिबार १४:५४:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – घोराही बजारको व्यस्त सडक । सडकसँगै जोडिएको एक छाने पुरानो भवन । भवनको कोठामा पुस्तकले भरिएका दराज सजाइएको छ ।

दराज विभिन्न व्यक्तिले सौजन्य गरेको प्रष्टै चिनिन्छन् । घोराहीमा रहेको ६ दसक पुरानो सर्वोदय पुस्तकालय हो यो । जहाँ रहेका कतिपय पुस्तकले पाठक नदेखेको वर्षौ भैसक्यो । तर पनि यी कोठाहरु दैनिक रुपमा खोल्ने र बन्द गर्ने क्रम चलिरहेको छ ।

स्वर्गिय टेकनाथ गौतमले सौजन्य गरेको जमिनमा २०१० सालमा नागरिक स्तरबाट स्थापना भएको यो पुस्तकालयले पञ्चायतकालमा धेरै राजनीतिज्ञलाई बचाएको छ । तर केही वर्षदेखि यो पुस्तकालय आफै बेवास्ताको शिकार भएको छ  ।

इतिहास बोकेको पुस्तकालयलाई फेरि सञ्चालनमा ल्याउन स्थानीयहरुले पहल थालेका छन् । पुस्तकालयसँगै दैनिक पत्रपत्रिका पढ्न मिल्ने बाचनालय र बालबालिकाका लागि अलग्गै बाल पुस्तकालय स्थापना गरेर पाठकलाई आकर्षित गर्न खोजिएको व्यवस्थापन समितिका सचिव सुदीप गौतम बताउनुहुन्छ ।

पाठक खोज्दै सर्वोदलयले भाषा सुधारको अभियान पनि थालेको छ । घोराही बजारका पसल तथा अन्य स्थानमा राखिएका साइनबोर्डमा लेखिएको भाषा अशुद्ध भेटिए शुद्ध लेख्न आग्रह गर्ने गरिएको गौतम बताउनुहुन्छ ।

आफ्नै टोलबाट सुरु गरिएको भाषा सुधारको अभियानलाई नगर भरि सञ्चालन गर्न पुस्तकालयले नेपाली विषयका प्राध्यापकको टोली नै गठन गरी परिचालन गरेको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया