सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

 चैत २४, २०७६ सोमबार २०:५५:४५ | रासस
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालु अधिवेशन स्वत: अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

गत पुस ४ गतेदेखि शुरु भएको चालु अधिवेशनबाट वर्तमान सभामुखको चयन भएको थियो । यो अधिवेशनमा सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन , औद्योगिक व्यवसाय विकास प्रतिष्ठान  र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भएका थिए ।

कोरोनासम्बन्धी सार्वजनिक महत्वका विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरियो । 

 नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने पारित हुन सकेनन् । निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० ले सदनमा छलफलका लागि प्रवेश पाएन ।

चालु अधिवेशनमा प्रतिनिधिसभाबाट आठ विधेयक पारित भए भने त्यसका विभिन्न समितिमा हाल १३ विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएकासमेत १८ विधेयक विचाराधीन छन् ।

यस अधिवेशनमा सन्धिसम्झौता अनुमोदनसम्बन्धी नौ प्रतिवेदन पेश भएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया