काेराेनाबाट यूएईमा एक नेपालीकाे मृत्यु, मृत्युपछि भयाे कोरोनाकाे पुष्टि

 चैत २५, २०७६ मंगलबार १०:५४:३६ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि उहाँकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

बिहीबार साँझ खाना खाएर सुत्नुभएकी बिनु शुक्रबार मृत भेटिनुभएको थियो । कोठाबाटै प्रहरीले शव उठाएको थियो । तर उहाँको नाम मृत्युहुँदा सम्म पनि कोरोना सङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृत्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृत्युको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

बर दुबईको अल रफ्फा पुलिस स्टेसनमार्फत प्राप्त कागजात मृतकका श्रीमान डोलराज पराजुलीले दूतावासलाई पनि दिनुभएको छ ।

परिवारले लकडाउनका कारण बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।

परिवारजनबाट प्राप्त अरेबिक भाषामा लिखित पत्रलाई दूतावासकै जनसंपर्क अधिकृत (पीआरओ) मार्फत उल्था गरिएको र त्यसमा ज्यान जानुको कारण कोरोना भाइरस उल्लेख भएको दूतावासको भनाई छ ।

४० वर्षीय बिनु यूएईम पछिल्लो समय भिजिट भिसामार्फत एक भारतीय नागरिको घरमा घरेलु काम गर्नुहुन्थ्यो । तर उहाँ यूएईमा १० वर्षदेखि कार्यररत हुनुहुन्छ । यूएईको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ११ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ । दुई जना भने निको भइसकेका छन् । 

श्रीमती खोज्दै आएका श्रीमान् पनि अलपत्र

मृतक पराजुलीका श्रीमान डोलराज पराजुली पनि अहिले यूएईमा हुनुहुन्छ । उहाँ एक महिना पहिले श्रीमती बिनुलाई खोज्न भन्दै साथीभाइको सहयोगमा भिजिट भिसामा यूएई पुग्नुभएको हो ।

उहाँ पहिले यूएई मै कार्यरत हुनुहुन्थ्यो । तर योपालि भने श्रीमती खोज्नकै लागि यूएई आएको उहाँले बताउनुभएको छ । तर एक महिना बित्दा पनि श्रीमतीसँग कुरा हुन सकेको थिएन ।

‘घरमा १४ वर्षकी छोरी छ, ममी लिएर कहिले आउने भनिरहन्छे,’ डोलराज भन्नुहुन्छ, ‘अब मैले छोरीलाई के जवाफ दिनु ?’

बिनुले केही दिन पहिले आफूलाई मुटु र पेट दुख्ने गरेकाे छ भन्दै दुबईमै कार्यरत आफ्नै दिदीका छोरा हेमराज भण्डारी र उहाँको परिवारसँग भन्नुभएको थियो ।

बिहीवार साँझ पनि खाना खाएपछि राति अबेरसम्म आफन्तसँग भिडियोमार्फत कुराकानी गरेको आफन्तले बताएका छन् ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Asna

    April 30, 2020, 7:10 a.m.

    जे भएर मान्छेको ज्यान गए पनि रिपोर्ट कोरोना नै कसरी आउँछ ?? बुझ्नै नसकेको कुरा हाम्रो मान्छेको पनि रिपोर्ट उस्तै आएछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया