काभ्रेमा होम क्वरेन्टीनमा राखिएका १७ जनाको रिपोर्ट 'नेगेटिभ'

 चैत २५, २०७६ मंगलबार १४:३६:१० | रासस
unn.prixa.net

काभ्रे - काभ्रेमा कोरोना भाइरसको परीक्षण गरिएका १७ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । 

कोरोना भाइरस संक्रमणको आशंकामा होम क्वरेन्टीनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।
 
अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । 

‘पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण सुरु गरेको हो । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टीनमा राखिएको छ । 

 ‘विदेशबाट घर फर्किएर मण्डनदेउपुर नगरपालिकाको क्वरेन्टीनमा बसेका आठमध्ये हाल एक बाँकी हुनुहुन्छ, अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वरेन्टीनमै पठाइयो, उहाँहरुको निगरानी भइरहेको छ’, झाले भन्नुभयो ।

पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा–१२ कोलाँती मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा ज्यान गएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वरेन्टीनमा राखिएको थियो ।

कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताउनुभयो ।
 
यसैबीच काभ्रेपलाञ्चोकका १३ पालिकाले क्वरेन्टीन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नगरपालिका र सात गाउँपालिकामा ३२१ शैय्याका क्वरेन्टीन व्यवस्थित भएका हुन् ।

जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० शय्याका क्वरेन्टीन व्यवस्थित गरिएका हुन् । 

पाँचखालमा वडा प्रवेशमा रोक 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा एक वडाबाट अर्को वडामा जान नपाइने भएको छ । कार्यपालिकाको बैठकमा उक्त निर्णय गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । 

‘कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढिरहेका बेला सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि उक्त निर्णय गरेका हौँ’, खरेलले भन्नुभयो । उहाँका अनुसार तरकारी, दूध, औषधि तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन । 
 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया