फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव मनाइयो

 चैत २६, २०७६ बुधबार १०:४३:४३ | रासस
unn.prixa.net

चितवन – भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेर मनाइएको छ ।

सङ्घीय अस्पतालको मान्यता सहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पताललाई स्तरोन्नति गरी एक हजार शय्याको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।’ अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्रहण गर्दै  आमनागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा कटिबद्ध हुने बताउनुभयो ।

कार्यक्रममा अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. श्रीराम तिवारीले गएको सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार आठ सय ३३ को उपचार गरिएको र दुई हजार दुई सय ५१ जनाले भर्ना भएर सेवा लिएको बताउनुभयो । देशैभरका बिरामी आउने गरेको भए पनि चितवन सहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उहाँको भनाइ थियो ।
 
तिवारीले गुरुयोजना अनुसार काम गर्नुपर्ने, स्रोत साधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालका भवनको रङ्गरोगन यसै वर्ष गर्ने योजना रहेको बताउनुभयो । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल अहिले केन्द्रीय अस्पतालसम्म आइपुगेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया