भोक र अनिश्चितताको डरले काठमाण्डौ छाडेकाहरु सकुशल घर पुग्लान् ?

 चैत २७, २०७६ बिहिबार १७:५४:१७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – प्रदेश १ का झापा, मोरङ र सुनसरीदेखि प्रदेश २ का सिरहा, सप्तरी, धनुषा र सर्लाहीलगायत जिल्लाका मजदुरहरु काठमाण्डौबाट हिँड्दै घर फर्कनको लागि काभ्रे, सिन्धुली र महोत्तरी हुँदै आफ्नो बाटो तताइरहेका छन् । तर विपी राजमार्ग हुँदै उनीहरुको सयौं किलोमिटर लामो पैदल यात्रा सहज छैन । 

सिन्धुलीको सुनकोसी गाउँपालिकाले काठमाण्डौबाट हिँडेर गाउँ जाँदै गरेका झण्डै तीन सय मजदुरलाई बिहीबार सात वटा गाडी व्यवस्था गरेर सिन्धुली कटाइदियो । हिँड्दाहिँड्दै कति जना बिरामी भएका हुन्छन् । कतिपयका खुट्टा सुन्निएका र कतिका खुट्टामा ठेला उठेर रगत आइरहेका हुन्छन् । उनीहरुले निकै ठूलो दुःख झेलेर गाउँ जाँदै गरेका देख्छौं । उनीहरुमध्ये कतिलाई खाना खुवाएर पठाउँछौं । कतिलाई चाउचाउ र पानी दिएर पठाउने गरेका छौं ।’ विपी राजमार्गलाई छुने सिन्धुलीको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो । 

उहाँले हरेक दिनजसो बिहान गाउँपालिकाको गाडीले उनीहरुलाई सिन्धुली पार गरिदिने गरेको जानकारी दिनुभयो । ‘सम्भव भएमा हामीले सिन्धुली पार गरिदिन्छौं । नत्र हामीले गोलञ्जोरलाई पठाउँछौं । गोलञ्जोरले कमलामाईलाई पठाएर भएपनि मजदुरहरुलाई घर पुग्न सजिलो बनाइदिएका छौं ।’ अध्यक्ष दाहालले बताउनुभयो । ‘मजदुरहरु यस्तो बिजोग अवस्थामा आउँछन् । काठमाण्डौंमा बस्नेको मन पोेलेन होला ?’ दाहालले प्रश्न गर्नुभयो । 

काठमाण्डौको मन किन सानो ?

काठमाण्डौबाट पूर्वमात्र होइन चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ हुँदै कैलालीको धनगढीसम्मको सात सय किलोमिटर लामो बाटो हिँडेर घर जाने मजदुर पनि उत्तिकै छन् । 

उद्योग, कलकारखाना र निर्माण कम्पनीले ‘लकडाउन’ घोषणापछि मजदुरहरुलाई वास्ता नगरेपछि उनीहरु कष्टकर तरिकाले हिँडेरै घर गइरहेका छन् । उनीहरुलाई राजमार्ग क्षेत्रमा पर्ने केही स्थानीय सरकारले खाना पानीको व्यवस्था गरिरहेका छन् । 

‘काठमाण्डौबाट आएका मजदुरहरु रातको समयमा हिँड्ने रहेछन् । त्यसैले उनीहरुलाई खाना खुवाउन समस्या छ । राजमार्ग क्षेत्रमा पर्ने वडाहरुले भोकभोकै रहेका र दिउँसो आइपुगेकाहरुलाई खानाको व्यवस्था गरेका छन् ।’ धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भन्नुभयो । 

चितवनको इच्छामनकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङलाई काठमाण्डौबाट विभिन्न जिल्ला जान हिँडेका मजदुरको पीडा देखेर दिक्क लाग्छ । कुरिनटार, मुग्लिन र जलवीरेलगायतका क्षेत्रमा राजमार्गमा अलपत्र परेका मजदुरहरुलाई खाना खुवाउनेदेखि गाडीको बन्दोबस्त गरेर नारायणगढसम्म पठाउने गरिएको गीता गुरुङले बताउनुभयो । 

‘काठमाण्डौबाट भोकको डरले हिँडेकाहरु यस्तो हिसाबले कसरी सकुशल घर पुग्लान् भन्ने लाग्छ । उनीहरुलाई हामीले धेरै सहयोग गर्यौं,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘उनीहरु देशकै ठूलो महानगरपालिका र सङ्घीय राजधानीबाट आएर बाटोमा दुःख पाइरहेका छन् । कमसेकम उनीहरुलाई काठमाण्डौमै सुरक्षित राखेर खानपानको व्यवस्था गर्नुपथ्र्यो ।’

आफ्नो गाउँपालिकाले देशका मुख्य मुख्य सहरबाट हिँडेका मजदुरलाई आआफ्नो  गाउँ पुग्न सहयोग गर्दैआएको भन्दै गुरुङले सबै स्थानीय सरकारले यस्तै गरे समस्या नहुने बताउनुभयो । 

सङ्घीय सरकार के हेरेर बसेको ?

‘यस्तो गर्मी छ । उनीहरु भोकै प्यासै हिँडेका छन् । घामपानीमा ओत लाग्ने ठाउँको भर छैन । बिरामी हुँदा ओखतीको टुङ्गो छैन । सङ्घीय राजधानीबाट नागरिकलाई यसरी छाड्नु त पाप भैगो नि ।’ गुरुङले भन्नुभयो । 

काठमाण्डौबाट दैनिक चार, पाँच सय नागरिक हिँड्दै बाहिरिएको र भोकभोकै हिँडेको विषयमा हामीले गृह मन्त्रालयमा जिज्ञासा राख्यौं । गृह मन्त्रालयले यो काम स्थानीय तहहरुको भएको प्रतिक्रिया दियो । 

‘राहत वितरणको जिम्मा हामीले स्थानीय सरकारलाई दिएका छौं । काठमाण्डौ उपत्यकाका स्थानीय सरकारले मजदुरहरुलाई खान दिनुपर्ने हो । टोलटोलमा  हामी पुग्न सक्दैनौं भनेरै स्थानीय सरकारलाई जिम्मा दिएको कुरा तपाईंहरुले पनि बुझ्नुपर्यौ ।’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया