तीन महानगरका तीन एजेण्डा : स्मार्ट सिटी, मोनोरेल र फ्लाईओभरको काम के हुँदैछ ?

 जेठ १३, २०७५ आइतबार ८:१८:३६ | मदन पौड्याल
unn.prixa.net

‘विकटलाई निकट ल्याउँ, निकटलाई समृद्ध बनाउँ’ यो पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको चुनावी नारा हो । 

त्यस्तै, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको नारा पनि नाममा जोडिएको जस्तै सुन्दर महानगर बनाउने नै थियो र अहिले पनि छ । अनि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि उस्तै लोकप्रीय एजेण्डा छ । 

नारामा सीमित सुन्दर महानगर 

हाम्रो महानगर, राम्रो महानगर, समृद्ध, सुरक्षित र जीवन्त शहर, स्वच्छ र सुन्दर महानगर जस्ता नारा साँच्चिकै कार्यान्वयन हुने हो भने तीनवटै महानगरपालिकाका ‘आहा’ भन्ने लायक हुनेछन् । महानगरपालिका हुनका लागि जनसंख्या, आर्थिक अवस्था, पूर्वाधार, सेवासुविधा जस्ता २१ वटा शर्त पूरा हुनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । 

कम्तीमा ५ लाख जनसंख्या, पाँच वर्षमा एक अर्ब रुपैयाँ आय, अन्तर्राष्ट्रियस्तरको विमानस्थल, रंगशाला, होटल सुविधा, व्यवस्थित बसपार्क पनि हुनुपर्छ । तर महानगरपालिकामा अहिले पनि सेवा प्रवाह र पूर्वाधारकै समस्या देखिएका छन् ।

फोहोर व्यवस्थापन, खानेपानीको सहज सुविधा, यातायात व्यवस्थापन अहिले पनि चुनौती नै छन् । पोखराका मेयर जिसीको मुख्य एजेण्डा स्मार्ट सिटी अझै पनि कार्यान्वयन हुन सकेको छैन । तर आफूले स्मार्ट सिटीको मुख्य एजेण्डालाई अझै भुलिनसकेको मेयर जिसीले बताउनुभएको छ । चुनावको बेलामा मुख्य एजेण्डा बनेको पोखरालाई स्मार्ट सिटी बनाउने विषयको ठोस खाका अझैसम्म बनेको छैन ।

तीनवटै महानगरपालिकामा मुख्य एजेण्डा प्रगतिविहीन

तीनवटै महानगरपालिका धार्मिक एवं पर्यटकीय शहर पनि हुन् । भौगोलिक अवस्था, मौसम, प्राकृतिक सुन्दरता पनि तीन महानगरपालिकाका मुख्य विशेषता हुन् । तर महानगरपालिका भित्रका संरचना व्यवस्थित छैनन् । फोहोर, ट्राफिकजाम जस्ता समस्या पनि साझा समस्या नै हुन् ।

पोखराका मेयरको स्मार्ट सिटीको वाचा अझै पूरा भएको छैन । त्यस्तै, जाममुक्त घोषणा गरी ४ मुख्य चोकमा फ्लाइओभर बनाउने भनेको ललितपुर महानगरपालिकाले बितेको एक वर्षमा परामर्शदाता समेत छान्न सकेको छैन । मेयर चिरीबाबु महर्जनका अनुसार राम्रो डिजाइनर छनोट गर्ने काम भैरहेको छ ।

अनि स्मार्ट सिटी, मोनोरेल, मेट्रोरेल काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका पनि चुनावी घोषणा हुन् । नीति तथा कार्यक्रममा पनि समावेश गरिएका यी चर्चित एजेण्डाकै चर्चा अहिले सेलाउँदै गएको छ ।

काठमाडौंका मेयर शाक्यले जिम्मेवारी सम्हालेको जेठ १७ गते ठ्याक्कै एक वर्ष हुन्छ । तर नीति तथा कार्यक्रमको दस्तावेजमा उल्लेख र मेयर भएलगत्तै एकसय एकदिनमा गर्छु भनेका कतिपय काम अहिले पनि अलपत्रै छन् ।

स्थानीय तहको चुनावका बेला शाक्यले धुलोधुवाँ खाल्डाखुल्डी, सडकमा हुने जाममुक्त महानगर बनाउने, मोनोरेल, मेट्रोरेल, सहज खानेपानीको व्यवस्था लगायत आकर्षक कार्यक्रम घोषणा गर्नुभएको थियो । तर वर्षदिन भैसक्दा पनि काठमाडौंको अवस्था फेरिन नसकेको सडकका खाल्डाखुल्डी, फोहोर र जामले नै प्रस्ट देखाउँछन् ।

तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विवाद र कानुनी अड्चनका कारण केही काममा ढिलासुस्ती भएपनि अरु अगाडि बढेको दावी गर्नुहुन्छ । मोनोरेलको काम अगाडि बढिसकेको मेयर शाक्यले दावी गर्नुभयो ।

काठमाडौंमा जुनसुकै रेल आए पनि ललितपुर नसमेटिकन आउँदैन – महर्जन

काठमाडौंमा मोनोरेलको काम अगाडि बढेको भन्दै गर्दा काठमाडौंसँग जोडिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले काठमाडौं उपत्यकाभित्र जुनसुकै रेल आए पनि ललितपुर नसमेटिकन नआउने दावी गर्नुहुन्छ । उहाँले मोनोरेल या मेट्रोरेलको विषयलाई अहिले थाती राख्न आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार अहिले मोनोरेल या मेट्रोरेलको काम अगाडि बढेको छ भन्न सक्ने अवस्था बनिसकेको छैन । मोनोरेल, फ्लाईओभर र जाममुक्त महानगरको घोषणा कार्यान्वयन बारेमा प्रगति शून्य अवस्था रहेको ललितपुर महानगरपालिकाका मेयर महर्जन बताउनुहुन्छ । 

पूरा होलान् त मुख्य एजेण्डा ?

चुनावपछि नागरिकले गाउँगाउँमा सिंहदरबार पाए । आफ्ना समस्या सुनाउने आफ्नै प्रतिनिधि पाए । कर्मचारीले चलाउँदै आएको स्थानीय तह आफैले चुनेर पठाएका जनप्रतिनिधिको हातमा पुग्यो । तर आफैंले गरेका प्रतिवद्धता महानगरपालिकाका मेयरले भने पूरा गरिसकेका छैनन् । स्थानीय तहले वर्षदिन गुजारेपनि स्मार्ट सिटी, जाममुक्त महानगर, मोनोरेल, मेट्रोरेल जस्ता मुख्य एजेण्डा अहिलेसम्म कागजमै सीमित छन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया