दैलोदैलोमै दैनिक रगत संकलन, रेडक्रस भन्छ : रगत अभाव छैन

 चैत २८, २०७६ शुक्रबार १६:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाले लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन घरदैलोमै रगत संकलनको अभियान सञ्चालन गरेको छ ।

'रगत नपाए भक्तपुर जाऔँ 'भन्ने पुरानो नारालाई स्थापित गर्दै सरकारले गरेको लकडाउनमा रेडक्रसले ‘डोर टु डोर रक्तदान’ अभियान सञ्चालन गरेको रेडक्रसका भक्तपुर जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । 

रेडक्रस कै समन्वयमा आज मध्यपुरथिमि श्यामा श्यामा धाम राधेराधेमा राधामाधव समितिअन्तर्गत डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको रक्तदानमा २७ जना युवाले रक्तदान गरेको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिनुभयो । 

रगतको अभाव हुन नदिन लकडाउन भएको दिन चैत ११ गतेदेखि नै दिनदेखि स्वयंसेवी रक्तदाता समाज (ब्लोदान) र स्वयंसेवी रक्तदाताको सहयोगमा हरेक दिन रगत संकलन गरेको सभापति थापाले जानकारी दिनुभयो ।

सुत्केरी, क्यान्सर, मिर्गौला, अन्य शल्यक्रिया, दुर्घटना लगायतका बिरामीलाई नियमित नै रगतको आवश्यक्ता पदर्ने तर लकडाउनले रक्तदान हुननसक्दा बिरामी र बिरामीका आफन्तलाई ठुलो समस्या पर्ने भएपछि उपत्यकाका विभिन्न स्थानमा डोर टु डोर रक्तदान अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । 

दैनिक तीन चार ठाउँमा रक्तदान कार्यक्रम राखेर सामाजिक दूरी कायम गरी सुरक्षित तवरले रक्तदान गर्ने गरेको जानकारी दिँदै १२५ पिन्टसम्म रगत वितरण भइरहेको जानकारी दिनुभयो ।

रेडक्रसका सभापति थापाले भन्नुभयो, ‘अहिले रगतको अभाव हुन दिएका छैनौँ, ११ गतेयता अहिलेसम्म १६ सय पिन्ट रगत संकलन गरिसक्यौँ, अहिले पनि होल ब्लड ५००, पीपीआर ब्लड १०० र एफएफपी ब्लड ८०० पिन्ट स्टक छ, आत्तिनु पर्ने अवस्था छैन ।’

त्यसैगरी रेडक्रसले जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुर र सुर्यविनायक नगरपालिका प्रत्येकलाई रु.एक लाख रुपैयाँका दरले राहत सामाग्री वितरण गर्नेगरी नगरपालिकाको विपद कोषमा चार लाख रुपैयाँ प्रदान गरेको जानकारी दिनुभयो ।

रेडक्रसले कोभिड-१९ बारे जनचेतना फैलाउन सबै नगरपालिकामा माइकिङ्ग गर्ने जिल्लाबाट सञ्चालित एम्बुलेन्स र रक्तसञ्चार सेवालाई गुणस्तरीय रुपमा सञ्चालन गर्ने, एम्बुलेन्स चालकलाई पीपीई सेट, मास्क, पञ्जा लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया