खानेपानी आयोजनामा पलाँता निर्माण कार्यदल

 साउन १२, २०७५ शनिबार २०:३३:४७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - पलाँता गाउँपालिकाले सडक निर्माणमा कार्य गर्दै आएको पलाँता निर्माण कार्यदललाई खानेपानी आयोजना निर्माण कार्यमा लगाउने भएको छ ।

पलाँता निर्माण कार्यदलको बार्षिक समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले निर्माण कार्यदललाई ठूला खानेपानी आयोजनामा गएर काम गर्ने निर्देशन दिनुभएकाे छ।

एक सय जना रहेको कार्यदल लाई २ सय थपेर यस वर्षबाट तीन सय पुर्‍याउने कार्य भइरहेको अध्यक्ष बमले बताउनुभयाे ।

कार्य व्यस्तताका कारण तीनवटा टिम वर्षिक समीक्षामा आउन सकेनन् ।

अघिल्लो वर्ष सडक निर्माण कार्यमा सफलता हासिल गरेकाले यस वर्ष कार्यदललाइ सिचाँइ, खानेपानी, सडक, भवन निर्माण र जल बिद्युत निर्माण कार्य तोकिएको छ ।
पलाँता निर्माण कार्यदलको एक टिममा १५ जना रहने छन् । अति आवश्यकीय कार्यका लागि बाहेक ६ महिनासम्म कार्यदलका सदस्यहरु निर्माण स्थलबाट बाहिर जान पाउने छैनन् ।

कसको टिम कहाँ

 एक वर्षका लागि कार्यदलको कार्य क्षेत्र विभाजन गरिएको छ । विभाजन गरिएको कार्य क्षेत्रमा कार्यदलले तत्काल कार्य प्रारम्भ गर्ने छ । 

पलाँता २ का लागि खानेपानी ल्याउन लागिएको तलसेरी खानेपानी आयोजना २४ किलो मिटरलामो आयोजना हो । यस आयोजनाका लागि गाउँपालिकाले २ करोड बजेट विनियोजन गरेको छ ।

अघिल्लो वर्ष किर्डार्कले आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रमा सहभागी भएपछि पलाँता २ का स्थानीय बासिन्दाले खानेपानी माग गर्दै जेठमा गाउँपालिका अध्यक्षलाइ रित्तो गाग्रीले स्वागत गरेका थिए ।

अघिल्लो वर्ष कार्यदलले काम गरेका सडक आयोजनाहरुबाट रकम भुक्तानी गर्दा कार्यदलले समयमै नपाएको गुनासो आएपछि यस वर्ष कार्यदलका लागि २ करोड रकम पहिलो गाउँसभाबाट विनियोजन गरिएको अध्यक्ष बमले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,  ‘पहिले आयोजनामा पैसा जान्थ्यो कार्यदलले काम खोज्दै जानु पथ्र्यो अहिले त्यस्तो छैन जहाँ कार्यदल जान्छ त्यहाँ रकम पनि जान्छ ।’

कार्यदललाई के के सुविधा छ 

पलाँता निर्माण कार्यदलले अघिल्लो वर्ष प्राप्त गरेको २४ हजार तलबमा यस बर्ष १० प्रतिशत वृद्धि गरिएको छ ।  सरकारी सेवा सुबिधा अनुसार यो तलबमान सुब्बा स्तरको हो ।

जीवन बीमा, पाेशाक, सञ्चय कोष, सन्तति शिक्षा बचत लगायतका सेवा पाउने गरी गाउँपालिकाले पलाँता निर्माण कार्यदल २०७४ को कार्यविधि परिर्माजन गर्ने भएको छ ।

भाद्र महिनाबाट पलाँता निर्माण कार्यदलका टिम लिडरहरुले सञ्चर सेट पनि पाउनेछन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया