पर्यटन मन्त्री भट्टराईद्वारा सरोकारवालासँग 'भिडियो कन्फ्रेन्स', श्रमिकको लागि कोष बनाउन निर्देशन

 चैत २९, २०७६ शनिबार १९:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रमुखहरुसँग ‘भिडियो कन्फ्रेन्स’ गर्नुभएको छ ।

मन्त्री भट्टराईले भिडियो कन्फ्रेन्स गरेर कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा परेकाे असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीहरुको सबै खालका सुरक्षा र आगामी कार्ययोजना बारेमा छलफल गर्नुभएको हो । शनिबार एक घण्टा १० मिनेट भएको भिडियो कन्फ्रेन्समा पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घ–संस्थाका प्रमुखहरुले आ–आफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी कदम र सरकारसँगको अपेक्षाको विषयमा कुरा राखेका थिए ।

छलफलमा होटल एसाेसिएशन नेपाल (हान) की अध्यक्ष सिर्जना राणा, ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ् नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एसिया ट्राभल एसाेसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नेपाल एसाेसिएशन अफ् टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँ सहभागी थिए । 

मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवनपायनको विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन मन्त्रीले अनुरोध गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘देशको जुनसुकै भूभागमा रहेका श्रमिक तथा मजदुरहरु भोकै बस्ने अवस्था रहन दिनु हुँदैन । कहीँ कतै समस्या भएको भए मलाई खबर गर्नुहोस् । सम्बन्धित पालिकासँग समन्वय गरेर उहाँहरुको तत्कालै समस्या समधान गर्नुपर्छ । आफ्नो सङ्गठनको संयन्त्रमार्फत प्रभावकारी रुपमा सूचना आदान प्रदान र समन्वयको लागि मेरो विशेष आग्रह छ ।’

मन्त्री भट्टराईले लामो समय लकडाउनको अवस्थामा जान परे श्रमिकहरुको दैनिक जीवनयापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौँ ।’ महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ । ‘हिमाल सफाइ लगायत काममा श्रमिकहरु परिचालनको विषय पनि उठेको छ, यसको सम्भावनाका बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ’, मन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनकाे लागि तयारी थाल्न पनि निर्देशन दिनुभयो । छलफलमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पछिल्लो अवस्थामा बोर्डले गरिरहेको कामको बारेमा जानकारी गराउनुभयो । डा.रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भइरहेको तथ्याङ्क सङ्कलनमा सबै सामेल हुन पनि आग्रह गर्नुभयो ।

डा.रेग्मीले पर्यटन क्षेत्रमा परेको असरको विषयमा सही तथ्याङ्क नभएसम्म आगामी कार्ययोजना बनाउन समस्या हुने बताउँदै बोर्डले गरिरहेकाे सर्भेमा सामेल हुन आग्रह गर्नुभयो ।

सङ्घ संस्थाका प्रमुखहरुले पर्यटन मन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाइमा विदेशी पर्यटकहरुको उद्धारमा भएको कामको प्रशंसा समेत गरे । यसले विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया