छलफलमै जनप्रतिनिधिमाथि कुर्सी हानाहान

 साउन १३, २०७५ आइतबार ६:४६:४५ | राजु लामिछाने
unn.prixa.net

रुकुम (पूर्व) – गाउँपालिकामा उत्पादित बिजुलीको विषयमा छलफल चलिरहँदा शनिबार बेलुका सिस्ने गाउँपालिकाका उपाध्यक्षसहितका जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको छ । छलफलमा सहभागी उपाध्यक्ष गोवर्द्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्तबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुदन रेग्मीलगायत माथि कुर्सी प्रहार भएको हो ।

सिस्ने गाउँपालिकाको ८ नम्बर वडामा उत्पादित विजुलीको विषयमा छलफल गर्ने क्रममा जनप्रतिनिधि माथि हमला भएको गाउँपालिकाले जनाएको छ । जामाखोला लघु जलविद्युत् आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको बेला केही युवाले कुर्सी प्रहार गरेको बताइएको छ ।

साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्बर वडावासीको श्रमदानमार्फत निर्माण गरिएको यो जलविद्युत आयोजनालाई गाउँपालिका मातहतमा लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएपछि झडप भएको थियो । साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने अन्य ७ वडा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ७ र ८ नम्बर वडामा परेका छन् । विशेषगरी मुसीकोट नगरपालिकामा परेका वडावासीहरु विद्युत् आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

विद्युतका विषयमा ५ नम्बर वडाध्यक्ष बोलिरहनु भएका बेला केही व्यक्तिले उपाध्यक्षसहित आफूमाथि आक्रमण गरेको ६ नम्बर वडा अध्यक्ष सुदन रेग्मीले बताउनुभयो । उपाध्यक्षसहित जनप्रतिनिधिमाथि कुर्सी प्रहार गरिएपछि छलफल अगाडि बढ्न सकेन । जनप्रतिनिधि र वडा कार्यालयमा हमला गर्ने विरुद्ध आज सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दिने तयारी गरिएको रेग्मीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया