कोरोनाको कारण विदेशमा खान, बस्न समस्या भएको छ ? यी उपाय अपनाउनुहोस्

 बैशाख २, २०७७ मंगलबार १३:१५:४ | सुमन घिमिरे
unn.prixa.net

विभिन्न कामका लागि विदेशमा रहनुभएका नेपालीहरुलाई विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीको अवस्थामा जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रुपमा बस्नुहोला ।

कोरोनाको माहामारीका बेला परदेशमा एक्लै बस्नुपर्दा, त्यसमाथि विभिन्न समस्याले झेल्दा तपाईँ धेरैलाई घर आउन मन लागेको छ । रोगव्याधी जे लागे पनि आफ्नै गाउँठाउँमा, परिवारको साथमा हुन पाए हुन्थ्यो भन्ने छ ।

धेरैलाई हामी परदेशमा भोकभोकै हुँदा पनि सरकारले किन देश फर्कन नदिएको भन्ने लागेको पनि होला । तपाईँहरुले यो बेला यस्ता भावना लिएर दुःखी र कमजोर हुनुभन्दा पनि आत्मवश्वास बलियो बनाउने र समस्या समाधानका लाग्नुपर्छ । सरकारका तर्फबाट पनि आवश्यक प्रयासहरु भएका छन् । दूतावासमार्फत र कुटनीतिक रुपमा सबै संयन्त्र क्रियाशील छन् । 

रोजगारी गुमेमा वा खानबस्न समस्या भएमा

अहिले काम छैन, गोजीको पैसा सकियो, के खाने, के गर्ने भन्ने धेरैको गुनासो छ । मलाई लाग्छ, धेरै कम्पनीहरुले काम नभए पनि खानबस्नको व्यवस्था गरेका छन् । अहिलेलाई स्वास्थ्य नै धन हो । स्वस्थ हुन सक्यो भने भोलि जे गरेर पनि खान सकिन्छ । त्यसैले नआत्तिनुहोस् ।

अलपत्र भएको, कामबाट निकालिएको, खानबस्न नपाइरहेको अवस्था छ भने सम्बन्धित देशको दूतावासमा सम्पर्क गर्नुहोला । यस्तै गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले पनि विभिन्न सहयोग गर्दै आएको छ, त्यहाँ सम्पर्क गर्नुहोला ।

कम्पनीले लकडाउनको बेला पनि कामदारलाई न्यूनतम तलब दिने भनेर गरेका निर्णय पनि दूतावासलाई प्राप्त भइरहेका छन् । तसर्थ अहिलेलाई पहिलेकै अवस्थामा सुखदुःख जे छ, त्यही अवस्थामा बसिदिन हुन आग्रह गर्छौं ।

अरु विभिन्न नेपाली समुदायले पनि योबेला समस्यामा पर्नेलाई दूतावासको सम्पर्कमा ल्याउनका लागि पहल गरिरहेका छन् । उहाँहरुको मार्फत पनि तपाईँहरु दूतावासको सम्पर्कमा आउन सक्नुहुन्छ । लकडाउनको बेलामा पनि न्यूनतम पारिश्रमिक र खाना बस्ने व्यवस्था गर्नको लागि दूतावासले आवश्यक पहल गरिरहेको छ । 

कसैलाई लकडाउन भन्दा अघिको अवस्थामा जस्तो नहुन सक्छ, तर तलब नै नपाइने भन्ने अवस्था आउन दिने छैनौं । यस्तो व्यवस्था सम्बन्धित रोजगारदाताले गर्नुपर्छ भनेर हामी लागिरहेका छौं ।

यो विषयलाई नेपाल सरकार र दूतावासले गम्भिरतापूर्वक लिइरहेको छ । यो हाम्रो पहिलो प्राथमिकताको विषय हो । अहिलेसम्म कसैले तलब नै नपाएको भन्ने औपचारिक खबर हामीले सुनेको छैन ।

कम्पनीले लकडाउनको बेला पनि कामदारलाई न्यूनतम तलब दिने भनेर गरेका निर्णय पनि दूतावासलाई प्राप्त भइरहेका छन् । तसर्थ अहिलेलाई पहिलेकै अवस्थामा सुखदुःख जे छ, त्यही अवस्थामा बसिदिन हुन आग्रह गर्छौं । लकडाउन खुलेपछि सरकारले उपयुक्त तवरले आवश्यक व्यवस्था मिलाउन उच्चस्तरमा समेत समन्वय र गृहकार्य गरिरहेको छ । नआत्तिनुहोला, खाना बस्न नै समस्या छ भने तत्कालै नेपाली दूतावासमा सम्पर्क गर्न सक्नु हुन्छ । 

भिसा सकिएमा 

यो बेला परदेशमा हुनेले भिसा र कार्य सम्झौताको ख्याल गर्नुहोला । नवीकरण गर्नुपर्ने छ भने लकडाउन खुलिसकेपछि नेपाली कामदारको हितमा उपयुक्त व्यवस्था गर्छौं, तपाईंहरु ढुक्क भएर बस्दा हुन्छ ।

भिजिट भिसामा गएर भिसाको म्याद सकिएको पनि अवस्था होला । समस्यामा परेका हरेक नेपाली नागिरकलाई उद्धार गर्ने दायित्व पनि सरकारको नै हो । तर अहिले सबै देशमा लकडाउन र कतै कफ्र्यु पनि छ ।

यस्तोमा दूतावासले पनि तपाईंलाई गाडी चढेर वा जहाज चढेर आफ्नोमा आइहाल भन्न सक्ने अवस्था हुँदैन । जो जस्तो अवस्थामा भए पनि जो जहाँ हुनु हुन्छ, त्यहीँ बस्नुको विकल्प छैन । तपाईं आत्तिनु पर्दैन, सरकार छ भन्ने बुझिदिनुहोला । 

दूतावासभन्दा बाहिरको काम भएमा परराष्ट्र मन्त्रालयले र श्रम मन्त्रालयले पनि सहयोग गर्छ । हामीलाई भन्नुहोस् । तपाईंले आफ्नो तर्फबाट गर्न सकिने आधारभूत व्यक्तिगत सरसफाइका कुरालाई ध्यान दिनुहोला । बाहिर तथा सङ्क्रमित भएका ठाउँबाट आएका व्यक्तिसँग टाढा बस्नुहोला । 

यस्तै कतिपय काम गर्ने कम्पनीले भिसा रद्द गरिदिएको गुनासो  पनि छ । उहाँहरुलाई अब फर्किन पाइन्छ कि पाईंदैन भन्ने डर  हुन सक्छ । तर डराउनु पर्दैन । तपाईंहरु  फर्किन पाउनुहुन्छ ।

यद्यपि  केही समय धैर्यता राख्नुस् । तर कुनै पनि कम्पनी सञ्चालकले काम मात्र रोकिएको कारणले भिसा रद्द नगर्न सक्छ । अरु नै कारणहरु होलान् ।  यदि भिसा नै रद्द भएमा पनि तपाईंलाई नेपाल फर्किनको लागि नेपाल सरकारले उपयुक्त उपाय अपनाउनेछ । लकडाउन खुल्ने बेलासम्म प्रतिक्षा गर्नुहोला ।

कतिपय ठाउँमा कम्पनी बन्द नभएको र काममा जाँदाआँउदा नै कोरोना सङ्क्रमण हुने जोखिम हुन्छ । यस्तो बेला दूतावासले के सहयोग गर्छ भन्ने धेरैको जिज्ञासा हुन्छ ।  

यस प्रश्नको सन्दर्भमा कतिपय कम्पनी अत्यावश्यक सेवाका कम्पनी पनि हुन्छन्, जुन लकडाउनको बेला पनि सञ्चालन भइरहेका छन् । तर अत्यावश्यक सेवामा काम गर्दा यस अवस्थामा आफूले सावधानी अपनाउनुपर्छ ।

यस्तो अवस्थामा दूतावासले नै सहयोग गर्छ । दूतावासभन्दा बाहिरको काम भएमा परराष्ट्र मन्त्रालयले र श्रम मन्त्रालयले पनि सहयोग गर्छ । हामीलाई भन्नुहोस् । तपाईंले आफ्नो तर्फबाट गर्न सकिने आधारभूत व्यक्तिगत सरसफाइका कुरालाई ध्यान दिनुहोला । बाहिर तथा सङ्क्रमित भएका ठाउँबाट आएका व्यक्तिसँग टाढा बस्नुहोला । 

हाल विदेशमा रहेका नेपालीहरु के कामको लागि गएका हुन् र अहिले कस्तो अवस्थामा छन् भनेर आधिकारिक विवरण दूतावासरनियोग मार्फत संकलन गरिरहेका छौं ।

भिसा सकिएको, सम्झौता नवीकरण नभएको अवस्था पनि होला । तर यस्तो बेला भिसाको म्याद सकिएकाहरुको दण्ड जरिबाना मिनाहा गर्ने भनेर धेरै देशहरुले भनिसकेका छन् । गर्छन् पनि । यस्तै नवीकरण नभएको भनेर चिन्ता लिइरहनु पर्दैन । 

कतिपय देशमा बेतलबी बिदामा स्वदेश फर्किन पाउने प्रावधान पनि घोषणा गरिसकेका छन् । दूतावासले जारी गर्ने सूचना हेर्ने गर्नुहोला ।

जोखिम मोलेर काम गर्नुभन्दा घर आउँछु भन्ने लागेको छ भने...

अहिले कोरोनाको जोखिमबाट बच्न जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नु नै एक मात्र उत्तम उपाय हो । दूतावासले चाहँदैमा वा तपाईँलाई म आफैं जान्छु भन्ने लागेर हुँदैन ।

नेपालले मात्र हैन, तपाईँले काम गर्ने देशले पनि अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । कतिपयले यस्तो बेला जोखिम मोलेर काम गर्नुपर्‍यो म नेपाल नै आउँछु, सामान्य स्वास्थ्य सुरक्षा पनि कम्पनीले उपलब्ध गराएन भन्नुभएको छ । पक्कै पनि यस्तोमा आवश्यक सुरक्षाका साधनहरु सम्बन्धित कम्पनीले नै उपलब्ध गराउनुपर्छ । 

अहिले तत्काललाई आफैंले मास्कको व्यवस्था गर्दा पनि हुन्छ । व्यक्तिगत सावधानी आफैले अपनाऔं । कतिपयले काम पाइएन र हप्तामा तीन दिन मात्र काम हुन लाग्यो, रोजगारी गुम्छ कि भन्ने प्रश्न गरेका छन् ।

अब स्थिती सामान्य भएपछि नेपाल आउनेका लागि स्वदेशमा के कस्ता रोजगारी सिर्जना गर्न सक्छौं भनेर हामीले आवश्यक गृहकार्य गरिरहेका छौं । बेरोजगारलाई कुनै न कुनै तवरले अब आउने बजेटमार्फत न्यूनतम रोजगारीमा जोड्ने हिसाबले कार्यक्रम तर्जुमा गर्ने प्रयासमा छौं । 

यस्तो महामारीको अवस्थामा, विश्वमा आर्थिक मन्दी भइरहेको अवस्थामा काम गुम्ने सम्भावना पनि हुन्छ । आधा काम भए पनि पाउनुभएको छ भने पनि गर्नुहोस् । काम छाडेर कोठामै बस्नुभन्दा पाएको काम गरिरहनुहोस् । श्रम कानुनमा भएको व्यवस्था पनि यही हो । 

जब कम्पनीको आर्थिक अवस्था बलियो हुन्छ अनि काम पनि बढाउँछ, हाललाई यो स्वभाविक प्रक्रिया हो भनेर बुझ्न म अनुरोध गर्न चाहन्छु । यस्तै कतिपय नेपालीहरु खाडी देशमा ट्याक्सी चलाउनुहुन्छ ।

यो लकडाउनले आफ्नो काम नै गुम्यो भनेर दुखेसो पोखिरहनुभएको छ । तर यो समस्या सीमित समयको लागि मात्र हो भनेर बुझ्नुपर्छ । यदि खाने बस्नै नै समस्या छ भने दूतावासमा सोध्न सक्नुहुन्छ ।

अहिले तपाईँलाई चाहिने सहयोग उपलब्ध गराउन दूतावास तयारी अवस्थामा छ । तर कहिलेकाहीँ एकैपटक धेरै फोनहरु आउँदा, प्रत्येक व्यक्तिको समस्या सुनुवाईमा केही कठिनाई हुन सक्छ । त्यस कारणले अत्यावश्यक कामका लागि मात्र दूतावासमा सम्पर्क गर्नुहोस् । अनलाइनमार्फत, इमेलमार्फत, वा अन्य तवरबाट पनि सुचनाहरु पढन वा सम्पर्क गर्न सक्नुहुन्छ ।

लाखौं श्रमिक रहेको ठाउँमा सीमित संख्यामा कर्मचारी भएको दूतावासले कहिलेकाहीँ तपाईँको गुनासो नसुनेको भन्ने तपाईँलाई लागेको हुनसक्छ । तर दूतावासले तपाईँहरुलाई त्यहाँ पर्ने समस्या समाधानका लागि हरदम प्रयास गर्छ । 

तपाईँहरुलाई कुन प्रकारको, कस्तो सहयोग चाहिएको हो, तपाईंले दूतावाससँग स्पष्टसँग  अनुरोध गर्नुहोला । यो आरोप प्रत्यारोप गर्ने समय होइन । एकले अर्कालाई सहयोग गर्ने समय हो ।

महामारीका कारणले साना र मझौला कम्पनीलाई धेरै प्रभाव पारेको छ । यस्तो अवस्थामा मलेसिया सरकार र अन्य देशका सरकारले यस्ता कम्पनीलाई विशेष सहयोग गर्ने घोषणा गरेका छन् । तसर्थ त्यस सहयोगबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई पनि राहत पुग्नेछ । हामीले पनि उनीहरुलाई न्यूनतम ज्याला पाउनुपर्छ भनेर गम्भिरतापुर्वक अन्तर्राष्ट्रिय तहमा कुरा उठाइरहेका छौं । पक्कै पनि केही न केही समाधान निस्कनेछ ।

अबको बजेटमा विदेशबाट फर्कनेका लागि व्यवस्था हुन्छ

कोरोनाले संसारभरी नै प्रभाव पारेको छ । अब स्थिती सामान्य भएपछि नेपाल आउनेका लागि स्वदेशमा के कस्ता रोजगारी सिर्जना गर्न सक्छौं भनेर हामीले आवश्यक गृहकार्य गरिरहेका छौं । बेरोजगारलाई कुनै न कुनै तवरले अब आउने बजेटमार्फत न्यूनतम रोजगारीमा जोड्ने हिसाबले कार्यक्रम तर्जुमा गर्ने प्रयासमा छौं । 

श्रम शक्तिलाई स्वदेशमै उत्पादनशील काममा लगाउने उद्देश्यमा हामी केन्द्रित छौं । विशेष गरी विदेशमा रहनुभएका साथीहरुले अहिले जुन काम गरिरहनुभएको छ, यहाँ आएर फरक काम पनि गर्नुपर्ने हुनसक्छ। त्यसको लागि तयार रहनुहोला ।

यस्तै कोही स्वरोजगार बन्ने, आफ्नै व्यवसाय गर्ने पनि सोच्नुभएको होला । उहाँहरुको लागि सरकारले सुलभ रुपमा ऋणको व्यवस्था गरिदिनेछ । अहिलेसम्म कानूनी रुपमा विदेशमा रहनुभएका नेपाली श्रमिकहरुलाई खासै ठूलो समस्या परेको देखिंदैन । अनौपचारिक तरिकाले जानु भएकाहरुलाई समस्या परेको हुन सक्छ ।

त्यसका लागि विशेष गरी खाडी देशका सरकारले त्यो देशबाट नाम दर्ता गरेमा भिसा प्राप्त गर्नको लागि अथवा लकडाउन खुलेपछि नेपाल फर्किनको लागि उपयुक्त निर्णय गर्ने पनि कुरा गर्नुभएको छ । धैर्य गर्नुहोस् । सुरक्षित रहनुहोस् । तपाईँका समास्या समाधानका लागि सरकारले निरन्तर र सबै पहल गरिरहेको छ ।

(परदेशबाट तपाईँले सोध्नुभएका प्रश्नमा प्रवक्ता घिमिरेले दिनुभएकाे जवाफमा आधारित । उहाँसँगको यो कुराकानी रेडियो कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

 

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन घिमिरे

घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता हुनुहुन्छ ।

1 Comments

  • पूर्ण

    April 14, 2020, 10:15 p.m.

    बग्वास कम्पनीले खाना दिँदैन काम नगरी तलब पनि दिँदैन कसले भन्यो कम्पनीले दिन्छ भनी?????????????????¿?? पिउने पानी त दिँदैन खाना र तलब को कुरा त धेरै टाढा को कुरा हो

  •  0 Reply

तपाईको प्रतिक्रिया