उपत्यकामा सङ्क्रमित देखिएपछि नमुना परीक्षण गराउने बढे

 बैशाख ३, २०७७ बुधबार १९:१५:२४ | रासस
unn.prixa.net

काठमाण्डौ - उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमुना परीक्षण गराउने बढेका छन् । 

उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमुना परीक्षण गराउन थालेका छन् । 

उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताउनुभयो । 

उहाँका अनुसार पहिले दैनिक १०-१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले  ३० जना आउने गरेका छन् । 

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् । 

‘उपत्यकामा सङ्क्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमुना परीक्षण गराइरहेका छन्’ उहाँले भन्नुभयो, ‘विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’

अस्पतालले २४ घण्टामा नमुना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उपत्यकामानमुना परीक्षणको दायरा बढाइरहेको बताउनुभयो । उहाँले मङ्गलबार सङ्क्रमित देखिएका स्थानमा एक हजार ७०० को परीक्षण गरिने जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार मङ्गबारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर)र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको छ ।

परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । 

इपिडिमोलोजी तथा सरुवा नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताउनुभयो ।

‘हरेक पालिकाले आफ्नो वडामा विदेशबाट आएका मानिसको नाम सङ्कलन गरिरहनु भएको छ’, उहाँले भन्नुभयो, ती सङ्कलितहरुको हामीले नमुना परीक्षण गरिरहेका छौँ ।’

उहाँले मंगलबार देखिएका दुई जनाको आफन्त र नातेदारमा पीसीआर र अपार्टमेन्टमा बस्ने अन्यलाई आरडीटी विधिबाट परीक्षण सुरु गरिसकेको जानकारी दिनुभयो । 

मंगलबारमात्र उपत्यकामा पीसीआरबाट ३८७ जनाको परीक्षण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया