उडान नहुँदा सम्मरबहादुरको शव यूएईमै अन्त्येष्टि गरियो, अझै १३ वटा शवको व्यवस्थापन बाँकी

 बैशाख ५, २०७७ शुक्रबार १९:४२:२ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले दुबईमा ज्यान गुमाएका एक नेपालीको त्यहीँ दाहसंस्कार गरिएको छ । बाटुलेचौर १६ पोखराका ५० वर्षीय सम्मरबहादुर सुनारको दुबईमा अन्त्येष्टि गरिएको हो ।

सुगरका बिरामी सम्मरबहादुरको उच्च निमोनियाका कारण उपचारका क्रममा गएको चैत २३ गते ज्यान गएको थियो । सुनार जबीलआलीको फ्रिजोनमा रहेको इकु लाइन मिडिल ईस्ट फ्रिजोन नामक कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

१५ वर्ष अघिदेखि यूएईमा काम गर्दै आउनुभएका सुनारको शव उडान नहुँदा नेपाल लैजान नपाएपछि परिवारको अनुमतिमा बुधवार दुबईको जबिलआलीमा अन्त्येष्टि गरिएको हो ।

बिरामी भएपछि कम्पनीले राम्रोसँग रेखदेख गर्दै आए पनि निमोनियाको कारण ज्यान गएपछि कम्पनीकै सहयोगमा कानुनी प्रकृया पूरा गरेर आबुधावीमा रहेको नेपाली दूतावासको समन्वयमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।

मृतकका भाइ सुनिल र छोरा समिर पनि दुबईमा काम गर्ने भएकाले नेपालबाट परिवारको सहमतिमा दुबईमै हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको कास्की आदर्श सेवा समाज यूएईका अध्यक्ष केदार कुँवरले बताउनुभयो ।

मृतकको दुबईमै अन्त्येष्टि गरिए पनि परिवारले भने पोखरामा मृतककी श्रीमती मिनादेवी सुनार र माइला छोराले काजकृया गरिरहनु भएको परिवारिक स्रोतले जनाएको छ ।

परिवारको अनुरोधमा शव व्यवस्थापनमा दूतावासले सरलिकरण गर्ने दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले बताउनुभयो । लकडाउनका कारण उडान नहुँदा लकडाउन अघि र लकडाउन अबधिमा ज्यान गुमाएका १३ नेपालीको शव अहिले पनि यूएईमा अड्किएका छन् । शव व्यवस्थापनका लागि दूतावासले कन्सुलर सेवा विभाग , श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डसँग समन्वय गरिरहेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया