कर वृद्धिको विरोधमा व्यवसायीहरु आन्दोलित

 साउन १३, २०७५ आइतबार १६:८:२९ | केसी लामिछाने
unn.prixa.net

पर्सा – करको दर बढाएको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार वीरगञ्ज महानगरपालिकाको विरुद्ध  विरोध प्रदर्शन गरेकाे छ ।

व्यवसायीहरुले करको दर बढाएको भन्दै महानगरपालिका विरुद्ध वीरगञ्ज बजार आधा घण्टा बन्द गरी विरोध प्रदर्शन गरेका हुन् । उद्योग वाणिज्य संघले घोषणा गरेको आन्दोलन अनुरुप, संघको अगुवाइमा उद्योगी व्यपारीहरुले आइतबार बिहान विरोध ¥याली निकाल्दै आधा घण्टा बजार बन्द गराएका हुन् । 

घण्टारचोकबाट निस्किएको विरोध र्‍यालीले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएको छ । आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताउनुभयो । 

उहाँले करको दरमा पुनरावलोकन नगरिएमा अझ सशक्त आन्दोलनमा जाने चेतावनी दिनुभयो । यसैबीच उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विपषयमा वार्ता गर्न तयार रहेको भन्दै उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गर्नुभयो ।

उहाँले पहिले आन्दोलन गर्ने र त्यसपछि वार्तामा बस्ने बानी सुधार गर्न आग्रह गर्दै स्थानीय सरकार जहिले पनि नागरिकको कुरा सुन्न तयार रहेको बताउनुभयो  । वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र दिन गएका उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिँदै मेयर सरावगीले वार्ता टोली बनाएर वार्तामा बस्न आग्रह गर्नु भएको छ । उहाँले ‘आन्दोलन गरेर नागरिकलाई दुःख दिनु छ भने’ आफनो भन्नु केही नरहेको बताउनुभयो । 

वीरगंज महानगरपालिका कार्यालयले जमिनको मूल्याकंन दर बढाएको छ । यसैमा उधोगी व्यवसायीको गम्भीर आपत्ति रहेको छ ।  मालपोत कार्यालय र वीरगंज महानगरले गरेको मूल्याकंन दरमा निकै भिन्नता रहेको छ ।  मालपोत कार्यालयले १ करोड ८० लाख रुपैयाँ मूल्याङ्कन गरेको जग्गा वीरगञ्ज महानगरपालिका कार्यालयले ६, ७ र ८ करोड मूल्याङ्कन तोकेको छ । नागरिकबाट कर असुल्ने अभिप्रायले  महानगरपालिका कार्यालयले मूल्याकंन बढाएको संघको आरोप छ ।  

नागरिकको सेवामुखी हुनुको सट्टा करमुखी भई नागरिकको आर्थिक दोहन गर्न खोजेको उद्योग वाणिज्य संघको आरोप छ । गएको आर्थिक वर्षमा व्यवसाय करको अधिकतम सीमा १० हजार रहेको थियो, भने चालु आर्थिक वर्षको लागि त्यो करको सीमा २ लाख रुपैयाँ तोकिएको छ । होटल व्यवसायमा करको अधिक्तम सीमा  ५० हजार रुपैयाँ रहेको थियो भने अहिले १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । विगतमा स्वास्थ्य सम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरिएको छ ।

उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदुषण एवम सडक सुधार शुल्कको नाममा मालवाहक सवारी साधनमा प्रवेशमा भन्सार बिन्दुमा नै असुल गर्ने गरी अति महंगो कर एवम औद्योगिक उत्पादनका वस्तुहरु सिमेन्ट, फलामे छड आदीमा समेत कर लगाइएको छ । 

कवाडीजन्य बस्तुमा लाग्ने गरेको कबाडी कर खारेज भएता पनि वीरगञ्ज महानगरपालिकाले त्यो कर पुनः लागू गरेको छ । सवारी साधनमा वार्षिक करका साथै ठूला, मझौला सवारी तथा साइकलमा दैनिक तथा समान्य आयश्रोत भएका नागरिकले उपयोग गर्ने मोटरसाइकलमा पटके पार्किङ्ग शुल्क तोकेको छ भने, पर्यटन तथा औद्योगिक विकासमा प्रतिकुल असर पर्ने गरी भारतीय नम्बर प्लेटका सबै सवारी (निजी तथा मालवाहक) सवारी साधनमा प्रति घण्टाको आधारमा पार्किङ शुल्क तोकेको छ । रिक्सा, ई–रिक्साको दर्ता शुल्क समान रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया