निःसन्तान दम्पतीले थाले वृक्षारोपण अभियान

 साउन १३, २०७५ आइतबार १६:४३:४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – वन जंगल मासिँदै गएको भन्दै यहाँका एक दम्पतीले गएको केही वर्ष यता विभिन्न सार्वजनिक स्थानहरुमा वृक्षारोपण गर्दै आएका छन् ।

बस्ती नै हरियाली बनाउने संकल्पका साथ जिल्लाको भुमे गाउँपालिका वडा नम्बर–२, मा बस्ने श्रीमान बुढाका दम्पतीले २०७० सालदेखि वृक्षारोपण कार्यलाई निरन्तरता दिइरहनु भएको छ ।

 

श्रीमान बुढा र उहाँकी श्रीमती पुनसरा बुढाले सार्वजनिक स्थानहरुमा आफ्नै खर्चमा विभिन्न प्रजातिका बिरुवाहरु खरिद गरी वृक्षारोपन गर्दै आउनुभएको हो । 
४८ वर्षीया श्रीमान बुढाका छोराछोरी छैनन् । सन्तान नभएपछि सार्वजनिक क्षेत्र हरियाली बनाउने सोच बोक्नु भएका उहाँहरुको समाजसेवाको कामलाई गाउँपालिका र स्थानीय नागरिकले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

बुढा दम्पतीले काँक्री स्वास्थ्य चौकी क्षेत्र, संग्राहालय क्षेत्र तथा त्यहाँ रहेका अन्य सार्वजनिक स्थानमा कतै निःशुल्क बिरुवा जुटाएर त, कतै किनेर समेत वृक्षरोपण गर्नुभएको छ । स्थानीय जयमान बुढाका अनुसार उहाँहरुले धूपीसल्ला, नास्पती, उत्तिस, मेल, देयर गरी ६ सय १० बिरुवा रोप्नुभएको छ । बिरुवा खरिदका लागि मात्रै उहाँले अहिले ४० हजार रुपैयाँ खर्च गरिसक्नु भएको छ । 

वन जंगल संरक्षणमा लाग्नका लागि सन्देश फैलाउन तथा सार्वजनिक स्थानलाई हराभरा बनाउने उदेश्यले सार्वजनिक स्थानहरुमा वर्सेनि वृक्षारोपन गर्ने गरेको बुढाले जानकारी दिनुभयो । उहाँले सबैजना रुख बिरुवा जोगाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: असोज २८, २०७५

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । उहाँलार्ई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया