लेखक तथा साहित्यकार पिटर जे कार्थककाे निधन

 बैशाख १०, २०७७ बुधबार ११:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – लेखक तथा साहित्यकार पिटर जे कार्थकको निधन भएको छ । बुधबार बिहान पौने ४ बजेतिर ललितपुरको हरिसिद्धि अस्पतालमा हृदयाघातका कारण उहाँकाे निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

अर्बुद रोगको परीक्षणका लागि केही दिनअघि अस्पताल लगिएका कार्थकलाई आज बिहान हृदयाघात भएको हो । उहाँको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने चलचित्रकर्मी तथा साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

पिटरकाे पहिलो उपन्यास 'प्रत्येक ठाउँ प्रत्येक मान्छे' ले २०३२ सालमा साझा पुरस्कार पाएको थियो । उहाँको कथा सङ्ग्रह 'पिटरका कथाहरु' पनि लोकप्रिय कृति हो ।

भारतमा जन्मिएर विसं २०३० सालेदखि नेपालमा बस्न थाल्नुभएका कार्थकका श्रीमती र दुई छोराहरु जिमी र रिकी हुनुहुन्छ । नेपालको पहिलो रकब्याण्ड हिलियन्सको संस्थापकमध्ये एक रहनुभएका पीटर जे कार्थकले नारायणगोपालले गाएका र गोपाल योञ्जनको सङ्गीत रहेका सबैजसो गीतमा गीतार बजाउनुभएको छ ।

कार्थकको 'प्रत्येक ठाउँ प्रत्येक मान्छे' प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले भूमिका लेखेको अन्तिम कृति पनि हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Rajesh

    April 22, 2020, 1:29 p.m.

    दाईको २ जना छोरा हुनुहुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया