घण्टौं लाइनमा उभिएर माइक्रोबस चढ्दा पनि बीचमा ओर्लेर हिँड्नुपर्छ

 साउन १३, २०७५ आइतवार १६:५२:३१ | बेदानन्द जाेशी
unn.prixa.net

मनमैजुको लोकतान्त्रिक चोक । नाम लोकतान्त्रिक भए पनि यो चोकबाट गाडी चढ्नेलाई कहिल्यै लोकतन्त्र आएजस्तो लाग्दैन । स्कुल, क्याम्पस र कार्यालय जानको लागि माइक्रोबस चढ्न लामो लाइनमा उभिनुपर्छ । 

यहाँबाट माइक्रोबस चढ्ने मजस्ता धेरैलाई सरकारबाट रोजगारी र बेरोजगार भत्ता पाउने तथा पानीजहाज चढ्ने आशा छैन ।

एउटा झिनो आशा छ त अफिस जानको लागि समयमै गाडी चढ्न र त्यो गाडीभित्र सिटमा बस्न पाइयोस् भन्ने । तर यो सामान्य आशा पनि कहिल्यै पूरा हुँदैन । टाढैबाट माइक्रोबस चढ्नेको लामो लाइन देख्ने बित्तिकै छटपटी सुरु हुन्छ ।

बिहान ९ बजेदेखि १०ः३० बजेसम्म माइक्रोबस चढ्नको लागि लामो लाइन लाग्छ । कोही हातमा घडी हेर्दै हुन्छन् त कोही घाँटी तन्काएर माइक्रोबस कहाँ आइपुग्यो भनेर हेर्छन् । निकैबेर पर्खेपछि बल्लबल्ल माइक्रोबस चढ्न पाइन्छ ।

बस चढेपछि उत्तिकै पीडा

बल्लबल्ल माइक्रोबसमा चढ्यो, बस्न त परको कुरा राम्रोसँग उभिने ठाउँ पनि हुँदैन । एकदिन कसैले ‘कस्तो भिड हो, उभिने ठाउँ पनि छैन’ भन्दा माइक्रोबसका सहचालकले ठट्टा गर्दै भने, ‘यो न्युयोर्क होइन दाइ, काठमाडौं हो ।’ 

उनको भनाईमा काठमाडौंको वास्तविकता झल्किन्थ्यो । माइक्रोबस कुर्नको लागि घण्टौं लाइनमा उभिनुपर्ने ।

मास्क नलगाई बाहिर हिँड्न मुस्किल हुने । पानी पर्दा हिलो, घाम लाग्दा धुवाँले वाक्क बनाउने । त्यसैमाथि अर्को समस्याको जड माइक्रोबसको यात्रा ।

माइक्रोबसमा चढ्नको लागि त दुःख हुन्छ नै । भित्र बस्न पनि सजिलो कहाँ छ र ? टन्टलापुर घाममा टाउकोे सेकेर होस् या मुसलधारे पानीमा भिजेर होस् घण्टौं उभिएपछि जसोतसो माइक्रोबसभित्र खुट्टा राख्न पाइन्छ । 

यतैबाट भरिएर हिँडेको माइक्रोमा बीच बाटोमा पनि यात्रु चढ्छन् ।

भित्र श्वास फेर्न पनि गाह्रो हुन्छ । कतिपटक त यात्रुहरुले सहचालकलाई बाटोमा यात्रु नचढाउ भनेर रिसाउँछन् पनि । तर सहचालकले सजिलै भनिदिन्छन्, ‘तपाईंलाई पनि हतार भएको बेला माइक्रोले रोकेन भने के हुन्छ, थाहा होला नि ?’ हुन पनि हो, त्यो सबैले भोगेकै कुरा हो । 

त्यसैमाथि सहचालकले झन अलि पछाडि जानुस् भन्छ । राम्ररी उभिन पनि नपाएकाहरुलाई कति रिस उठ्छ होला ।

एकदिन यस्तै भयो । गोंगबुचोक पुग्दा बढीमा १४ जनासम्म अट्ने सिट क्षमता भएको माइक्रोमा ३२ जना यात्रु थिए । त्यसैमा सहचालकले अझै पछाडि जान भन्दै थियो ।

त्यतिकैमा एकजना यात्रुले भने, ‘भाइ अब गाडीको सिटमुनी पनि राखेर लग्ने गर अझै बढी अटाउँछन् । बरु मिल्छ भने मै बस्छु ।’

यसरी यात्रुले कोचाकोच भरिएको माइक्रो ठमेल, लैनचौरको जाममा पर्छ । त्यतिबेला त कतिपय यात्रुहरु हिँडेरै जाने भन्दै ओर्लन्छन् । मै पनि कतिपटक भित्रको गर्मी सहन नसकेर ओर्लेर हिँडेको छु ।

किन हुन्छ यस्तो भिड ?

मनमैजुको लोकतान्त्रिक चोकबाट जम्मा १८ ओटा माइक्रोबस चल्छन् । ती सबै माइक्रोबस गोंगबुचोक, ठमेल, लैनचौर, जमल, भृकुटीमण्डपबाट सुनधारा पुगेर फेरि जमल हुँदै त्यही बाटो फर्किन्छन् ।

यो जम्मा ९ किलोमिटरको बाटो हो । बढीमा आधा घण्टामा पुगिने यो बाटोमा माइक्रोबसमा डेढघण्टासम्म लाग्छ ।

साँघुरो सडक र त्यसमा पनि ठूला गाडी चल्दा जाम बढी हुन्छ । प्रधानमन्त्री लगायत अरु विशिष्ट व्यक्ति हिँड्ने बाटो पनि यही रुटमा पर्ने भएकाले उनीहरुको सवारी हुँदा दुई, तीनघण्टा नै जाममा फस्नुपर्ने चालकहरु बताउँछन् । 
 

अन्तिम अपडेट: भदौ १५, २०७५

तपाईको प्रतिक्रिया