पुनर्निर्माणका काममा ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च : कोरोना सङ्क्रमणको असरले समयमै सबै काम सक्न चुनौती

 बैशाख १०, २०७७ बुधबार १६:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूकम्पपछिको पुनर्निर्माणमा अहिलेसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका क्रममा सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ खर्च भएको छ । त्यस्तै गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी कुल ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, पहिलो किस्ता लिई अझै पनि घर पुनर्निर्माण सुरु नगरेकालाई घर पुनर्निर्माण गर्ने वातावरण सिर्जना, जीविकोपार्जनका थप कार्यक्रम सञ्चालन, प्रभावितलाई आर्थिकरूपले सम्पन्न बनाउने कार्य, तल्लो तहमा व्यावहारिक रूपमा देखापरेका समस्या समाधान जस्ता चुनौती कायमै छन् । 

भूकम्पपछिको ५ वर्ष तथा प्राधिकरण स्थापनाको साढे ४ वर्षका बीचमा राजनीतिक अस्थिरता, नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, कर्मचारी समायोजन जस्ता समस्या तथा चुनौतीको सामना गर्दै पुनर्निर्माण र पुनस्र्थापनामा उपलब्धिहरू हासिल गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा सहज अवस्था भएको भए पुनर्निर्माण र पुनर्स्थापनामा यो भन्दा अझ धेरै उपलब्धि हासिल गर्न सक्ने दावीसमेत गर्नुभयो । तर त्यो विगत भइसकेको उहाँको भनाइ छ ।  

कोरोना सङ्क्रमणको असर पुनर्निर्माणमा : समयमै सबै काम सक्न चुनौती

अहिले कोभिड-१९ अर्थात् कोरोना भाइरसको जोखिमले विश्वव्यापी रूपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेको भन्दै उहाँले पुनर्निर्माणका कार्यमा समेत असर परेको बताउनुभएको छ ।

अहिले कोरोना भाइरस सङ्क्रमणको जोखिमले पारेको प्रभावले पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी काम समयमै सम्पन्न गर्न चुनौती थपिदिएको सीईओ ज्ञवालीको भनाई छ । उहाँले भन्नुभयो,‘पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा तीव्र गतिले काम भैरहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ खालको परिस्थितिले पुनर्निर्माण र पुनर्स्थापनाका कार्य गम्भीर रूपमा प्रभावित भएका छन् ।’

नेपालको पुनर्निर्माण र पुनर्स्थापनामा धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भाव साथै नागरिकको आत्मविश्वासले नै उपलब्धी प्राप्त भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया