आमा तिमी धन्य छ्यौ

 बैशाख ११, २०७७ बिहिबार १३:४९:५ | दामोदर न्याैपाने
unn.prixa.net

कविता

आमा त्यो दूधको भार तिर्न सक्छु कि सक्दिन 
तिम्रो त्यो सत मार्गैमा हिँड्न सक्छु कि सक्दिन ।
तिम्रो वचन मान्दै म सुमार्गमा म बढ्नुछ 
पीडा र कष्टमा रुँदा ऐया आमा नि भन्नुछ ।।

दिएको छु पीडा धेरै गर्भमा रहँदा पनि 
सन्ततिमा सदा स्नेह दुःख त्यो सहँदा पनि ।
मलाई तृप्त राख्यौ नि आफू भोकै बसे पनि  
खड्किएन अभाव खै जस्तै दुःख परे पनि ।।

मलाई काखमा राखी आफू बसेर मट्टीमा 
पलपल क्षमा दिन्थ्यौ मेरा ठूला ती गल्तीमा ।
तिम्रो त्यो ममता जाँच्न हरक्षण सताउँथेँ
मलाई दुःखी देखेमा आँखा तिम्रो रसाउँथे ।।

पिठ्युँमा दाउरा घाँस कहाँ सक्छु र बिर्सन ?
गाएको त्यो लोरी आमा कहाँ सक्छु र बिर्सन ?
तिम्रो त्यो अठोट आमा सार्थक मेरो जीवन  
तिम्रो त्यो ममता छोडि कतै जान म सक्दिन ।।

सागरबाट पीयूष खाएर का सकिन्छ र ?
त्यस्तै त्यो गुणको गाथा गाएर का सकिन्छ र ?
सारा यो विश्व ब्रह्माण्ड तिमीलाई म मान्दछु 
हे जननी ! तिमी धन्य केवल यति जान्दछु ।।

अन्तिम अपडेट: चैत १५, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया