कोरोना सङ्क्रमित भेटिएपछि भोजपुरको हतुवागढी गाउँपालिका ‘सिल’

 बैशाख १२, २०७७ शुक्रबार १४:३४:६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि गाउँपालिकालाई ‘सिल’ गरिएको छ ।

हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २६ वर्षीय युवकमा कोरोना सङ्क्रमण पाइएपछि गाउँपालिकामा प्रवेश गर्न र त्यहाँबाट बाहिर जान पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन  गरेर कडाइ गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी पुरीले  बताउनुभयो ।

३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्गमा रहेको घर आइपुगेका ती युवाको ‘ट्राभल हिस्ट्रि’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा परीक्षणको दायरा बढाउनेबारे पनि छलफल भएको छ ।

उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोभिड–१९ परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन–९५ मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश १ सरकारसँग माग गर्ने पनि बैठकले निर्णय गरेको छ ।

अहिले घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना गरिएका ती युवकलाई गाउँपालिकासँग समन्वय गरी आज नै एम्बुलेन्समा विराटनगरमा रहेको कोशी अस्पताल पठाइने प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया