स्थानीय तहले अझै बनाएनन् शैक्षिक क्यालेण्डर

 साउन १३, २०७५ आइतबार २०:१०:३८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – नयाँ शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षा सकिए पनि सदरमुकाम राजविराजसहित सप्तरीका १ दर्जन स्थानीय तहले अझै शैक्षिक क्यालेन्डर तयार गर्न सकेका छैनन् ।

शैक्षिक क्यालेन्डर तयार नभएका कारण परीक्षा, बिदा, शैक्षिक कार्यतालिका, पाठ्यपुस्तक वितरण, भर्नालगायतका कामहरु प्रभावित भएका छन् । नौ नगरपालिकासहित १८ वटा स्थानीय तह रहेको सप्तरीमा अहिलेसम्म सुरुङ्गा र खडक नगरपालिका तथा विष्णुपुर, तिरहुत, अग्निसाइर कृष्णासवरण र तिलाठी कोइलाडी गाउँपालिकाले मात्रै शैक्षिक क्यालेन्डर तयार गरको आरपी समाजका अध्यक्ष देवकुमार यादवले जानकारी दिनुभयो ।

समयमा क्यालेन्डर तयार नभएका कारणले कहिले परीक्षा लिने र कति दिन बिदा दिने विषयमै अन्यौल रहेको नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतमले बताउनुभयो ।

स्थानीय तहको संरचना बन्नुअघि जिल्ला शिक्षा कार्यालयको समन्वयमा जिल्लाभरका विद्यालयहरुमा एउटै मितिमा परीक्षा सञ्चालन गर्ने र स्थानीय बिदाहरु निर्धारण गर्ने व्यवस्था रहेको थियो । तर संघीय संरचनामा भने स्थानीय तहले नै विद्यालय सम्बन्धी निर्णयहरु गर्ने भएपछि क्यालेन्डर नबन्दा समस्या भएको हो।

‘क्यालेन्डर नभएपछि विगतकै परम्परा अनुसार कतिपय विद्यालयहरुमा बिदा दिइँदा स्पष्टिकरण समेत सोधिएको छ,’ प्रधानाध्यापक गौतमले, ‘समयमै क्यालेन्डर तयार भएको भए यो समस्या आउने थिएन ।’

शैक्षिक क्यालेन्डर तयार नभएका कारण प्रथम त्रैमासिक परीक्षा पनि एक रुपमा हुन नसकेको र वर्षे बिदा पनि सबै स्थानीय तहअन्तर्गतका विद्यालयमा आ–आफ्नै तरिकाले दिइएको शिक्षकहरु बताउँछन्।

आर्थिक वर्ष समाप्तिको समय र विकासका कामको चटारोका कारण शैक्षिक क्यालेन्डर तयारीमा विलम्व भएको स्थानीय तहका प्रमुखहरु स्विकार गर्छन् । 
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले समयमा क्यालेन्डरको काम गर्न नसकिए पनि साउन महिना भित्रै ल्याउने गरी काम भइरहेको बताउनुभयो । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका ४२ सहित सप्तरीमा कुल ४ सय १२ विद्यालय छन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया