सम्पदा पुनर्निर्माण पाँच मेयरको एउटै बोली, चारबुँदे सहमति सार्वजनिक

 साउन १३, २०७५ सोमबार ५:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । 

आइतबार पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबुँदे निर्णय सार्वजनिक गरेका हुन् । 

भक्तपुर नगरपालिकाले आयोजना गरेको काठमाडौँ उपत्यकाका पाँचवटा ऐतिहासिक नगरपालिकाबीच ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको पुनःनिर्माण ऐतिहासिक प्रमाणको आधारमा परम्परागत शैलीमै पुनःनिर्माण गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । 

भक्तपुर नगरपालिकाको आयोजनामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच छलफल भएको हो । 

छलफलबाट उपत्यकाका पाँच वटा पुराना नगरपालिकाभित्रका पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका संरचनाहरु जनसहभागिता जुटाई पुनःनिर्माण गर्न जोड दिने, सम्पदाहरुको प्राप्त ऐतिहासिक प्रमाणहरुको आधारमा अध्ययन अनुसन्धान गर्दै परम्परागत मौलिक शैलीमा पुनःनिर्माण गर्न जोड दिने निर्णय भएको छ । 

पाँचवटै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको निर्णयमा काठमाडौँ उपत्यकाका प्राचीन शहरहरु समेटेर साँस्कृतिक संरक्षित केन्द्र घोषणा गराउन सबै नगरपालिकाले पहल गर्ने र काठमाडौँ उपत्यकाका ऐतिहासिक नगरपालिकाबीच अन्तरनगर साँस्कृतिक आदानप्रदानमा जोड दिने उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया