'लकडाउन'को असर अटोमोबाइल क्षेत्रमा, धरासायी बन्ने चिन्ता

 बैशाख १७, २०७७ बुधबार १५:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले वैशाख २५ गतेपछि पनि लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धारासायी अवस्थामा पुग्ने बताएको छ। 

करिब दुई महिनादेखि व्यापार ठप्प रहेको अवस्थामा ठूलो आर्थिक क्षति भइसकेको र अब पनि लकडाउनले निरन्तरता पाए झनै समस्या बढ्ने नाडाले बताएको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दुई महिनादेखि उद्योग व्यवसाय र प्रतिष्ठानहरु बन्द रहेको र खर्चमा कुनै कटौती नभएको अवस्थामा व्यापार व्यवसायलाई अगाडि बढाउन नपाए समस्या बढ्दै जाने बताउनुभयो । 

उहाँले अहिले पनि कर्मचारीको तलब पूर्ण रुपमा दिन नसक्ने अवस्था आइसकेकोले उद्योग वाणिज्य महासंघले दिएको सुझावअनुसार लकडाउन अवधिको तलब ५० प्रतिशत मात्रै दिने व्यवस्था गराउन सरकारसँग आग्रह समेत गर्नुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर २ प्रतिशतले घटाउनु सकारात्मक कदम भएको र बैंकहरुले पनि त्यसमा अझ केही कम गर्ने गरी व्यवस्था गर्न बैंकहरुलाई सुझाव समेत दिनुभयो ।

यसबाहेक आउँदो असार मसान्तसम्मको ब्याज तिर्ने समय थप ६ महिना दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो । अध्यक्ष दुलालले सरकारले भ्याट विवरण बुझाउने समय थप गर्नुपर्ने, कर बुझाउने अन्तिम समय पनि पुस मसान्तसम्म पुर्याउनुपर्ने लगायतका व्यवस्था गर्न समेत माग गर्नुभयो ।

यसबाहेक भन्सार परिसरमा रोकिएर बसेका सवारी साधनको शुल्क मिनाहा गर्न एवं कन्टेनरको डिटेन्सन चार्ज पनि मिनाह गर्न अध्यक्ष दुलाले माग गर्नुभयो । 

उहाँले लकडाउनपछि कसरी व्यवसाय सुरक्षित तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा नाडाले सुरक्षा प्रबन्ध अवधारण गाइड ल्याउन लागेकोसमेत बताउनुभयो । 

उहाँले व्यापार व्यवसाय र उद्योग प्रतिस्ठानहरु सञ्चालनमा नआए देशको अर्थतन्त्रमा ठूलो क्षति हुने भएकाले वैशाख २५ गतेपछि जसरीपनि लकडाउन खुलाउने व्यवस्था गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया