विद्यालयकाे वार्षिक नतिजा रेडियाेबाट

 बैशाख १८, २०७७ बिहिबार १०:४२:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै विद्यालयहरुले वार्षिक नतिजासमेत प्रकाशन गर्न नसकिरहेको अवस्थामा फिदिम माध्यमिक विद्यालयले भने रेडियो र अनलाइनबाट नतिजा प्रकाशित गर्ने भएको छ ।

विद्यालयले बिहीबार स्थानीय इगल एफएमबाट साँझ साढे  ७ बजेदखि ८ बजेसम्म नतिजाकाे विवरण प्रशारण गर्ने साथै अनलाइन तथा विद्यालयको फेसबुक पेजबाट पनि नतिजा प्रकाशन गर्ने तयारी गरेको प्रधानाध्यपक विनोद ठाकुरले बताउनुभयो ।

'लकडाउनमा रहेका विद्यार्थी तथा अभिभावकले परीक्षाफलका बारेमा बारम्बार प्रश्न सोधिरहनु भएको थियो', ठाकुरले भन्नुभयो, 'हामीले रेडियो तथा अनलाइनमार्फत नतिजा प्रकाशनको तयारी गरेका छौँ, अहिलेको परिस्थिति अनुुसार गर्नु जरुरी पनि छ ।'

परीक्षा दिएको लामो समयसम्म पनि नतिजा थाहा पाउन नसकेपछि विद्यार्थी र अभिभावकमा बढेको अन्याेल हटाउन यस्तो उपाय निकालेको विद्यालयका शिक्षक हरिचन्द्र लावतीले बताउनुभयो । फिदिम माविले स्थानिय रेडियो इगल एफएमबाट विद्यालयको बारेमा पाक्षिक रुपमा रेडियो कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया