टुर दि फ्रान्सको उपाधि बेलायतका ग्रेनाइट थोमसलाई

 साउन १४, २०७५ सोमबार १२:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायतका ग्रेनाइट थोमसले टुर दि फ्रान्सको उपाधि जितेका छन् । फ्रान्सको प्रशिद्ध साइकल र्‍यालीको उपाधि जित्ने थोमस तेस्रो वेलायती खेलाडी बनेका छन् ।

१०५औं संस्करणको उपाधि जित्नका लागि थोमसले अघिल्लो संस्करणका विजेता क्रिश फ्रुमलाई पछि पारेका थिए । टिम स्काईका चालक थोमसले दोस्रो स्थानका डच खेलाडी टम डुमोलिनलाई एक मिनेट ५१ सेकेण्डले पछि पारेका थिए । २१ चरणको रेस थोमसले ८३ घण्टा १७ मिनेट १३ सेकेण्डमा पूरा गरेका थिए । दोस्रो भएका टिम सनवेबका टमले ८३ घण्टा १९ मिनेट चार सेकेण्ड मार्क गरेका थिए भने तेस्रो भएका क्रिश फ्रुमले ८३ घण्टा १९ मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी तय गरेका थिए ।

रेसको २१ औं चरणको उपाधिका लागि १० खेलाडीले एउटै समयमा दूरी पूरा  गरेका थिए । नर्वेका अलेक्सान्दर क्रिष्टोफ, जर्मनीका जोन डेगेनकोल्ब र फ्रान्सका आर्नो डिमारेले समान २ घण्टा ४६ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

११६ किलोमिटरको दूरीमा समान समयमा रेश पूरा गरेपनि अलेक्सान्दर क्रिष्टोफ पहिलो, जोन डेगेन्कोल्ब दोस्रो र अर्नोड डिमारे तेस्रो भए ।

टूर दि फ्रान्सको उपाधि जित्ने तेस्रो वेलायती खेलाडी थोमसको यो पहिलो मुख्य उपाधि हो । पछिल्लो सात वर्षमा वेलायतले टूर दि फ्रान्समा पकड जमाएको छ । पछिल्लो सात संस्करणमा वेलायती खेलाडीले ६ वटा उपाधि जिते । सन् २०१२ मा ब्राडली विगिन्सले उपाधि जितेका थिए भने सन् २०१३ मा वेलायतकै क्रिश फ्रुम च्याम्पियन बनेका थिए । सन् २०१४ मा इटालीका भिन्सेन्जो निबाली च्याम्पियन बन्दा त्यसपछिका तीन संस्करणमा क्रिश फ्रुम विजयी भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया