अनलाइन कक्षा : सुगममा सफल, दुर्गममा आकाशको फल

 बैशाख २३, २०७७ मंगलबार १६:३०:४६ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - हरेक दिन बिहान दश बजेपछि अनलाइन कक्षाको तयारीमा लाग्नुहुन्छ रेडियन्ट रिडर्स ऐकेडेमीकी शिक्षिका मेनुका महर्जन । त्यसपछि आफूले पढाउने अनलाइन एप्लिकेसन डाउनलोड गर्न लगाउनुहुन्छ । कोही चिच्याउँछन् । कोही ‘कनेक्ट’ भएन भनेर गुनासो गर्छन् । झण्डै एक हप्तादेखि घरमै बसेर पढाउँदै आउनुभएकी महर्जनलाई विद्यार्थीहरुलाई कसरी बसाउनेदेखि अनलाइन कक्षा अवधिभर केके गर्ने भन्ने जानकारी गराएर कक्षा व्यवस्थापन गर्न हरेक दिन दश मिनेट लाग्छ । त्यसपछि उहाँको ३५ देखि ४० मिनेटको नियमित कक्षा सुरु हुन्छ । लकडाउनपछि यो उहाँको दैनिकी बनेको छ ।   

गएको आइतबार महर्जनको घरमा पुग्दा उहाँ कम्प्युटरअगाडि थुप्रै शैक्षिक सामग्री राखेर अनलाइन कक्षा सुरु गर्ने तयारीमा हुनुहुन्थ्यो । दश बज्नुभन्दा अगाडि नै सबै अभिभावकलाई सम्पर्क गरेर विद्यार्थीहरुलाई तयारी अवस्थामा राख्न लगाउनुभयो । सबै जना तयार भइसकेपछि सधैँझैँ विद्यार्थीहरुलाई त्यो दिनको कक्षाबारे जानकारी गराउनुभयो र कक्षा सुरु गर्नुभयो ।

चालीस मिनेटको अनलाइन कक्षा सकेपछि मेनुकासँग कुराकानी गर्न सुरु गरेँ । तपाईंलाई अनलाइनबाट कक्षा सञ्चालन गर्नुपर्छ भन्ने किन लाग्यो भनेर प्रश्न गरेँ । उहाँले भन्नुभयो, ‘लकडाउनको कारण लामो समय स्कुल बन्द हुँदा विद्यार्थीहरुमा पढाइप्रतिको रुचि घट्न सक्छ । अहिलेसम्म सिकेका धेरै कुरा उनीहरुले बिर्सिन सक्छन् । त्यसैले विद्यालयमा सिकेका कुरालाई पुनर्ताजगी गराउन र पढाइप्रतिको रुचि कायम राख्न अनलाइन कक्षा सञ्चालन गर्यौँ ।’ 

अनलाइन कक्षामा सुरुसुरुमा विद्यार्थीहरुले रुचि दिएर पढ्ने तर बिस्तारै रुचि हराउँदै जाने हुँदा कक्षा कोठाजस्तो अनलाइन कक्ष प्रभावकारी नहुने उहाँ बताउनुहुन्छ । महर्जन भन्नुहुन्छ, ‘अनलाइन कक्षा प्रभावकारी हुने नहुने कुरा अभिभावक र घरको वातावरणमा पनि भर पर्दछ ।’ उहाँ थप्नुहुन्छ, ‘त्यसमा पनि शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरुसँग पुस्तकहरु पनि नभएकाले पढ्न चाहने विद्यार्थीलाई समेत ‘कोर्स’भित्रको कुरा सिक्न गार्हो परेको छ ।’ कक्षा ४/५ भन्दा माथिको कक्षाका लागि अनलाइन शिक्षा अलि सहज भए पनि साना विद्यार्थीका लागि भने चुनौतीपूर्ण रहेको महर्जन बताउनुहुन्छ । तर लकडाउनको अवस्थामा थोरै भएपनि विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा योगदान दिन पाएकोमा उहाँ निकै उत्साहित हुनुहुन्छ । 

मेनुकाले मात्रै होइन, लकडाउनको समयमा सहरका धेरै विद्यालय र कलेजले अनलाइन माध्यमबाट कक्षाहरु सञ्चालन गरिरहेका छन् । केहीले अनलाइन कक्षा अहिलेको समयमा निकै प्रभावकारी भएको बताउँछन् भने केहीले यसलाई झन्झटिलो कामको रुपमा लिन्छन् । नौ दिन नपढे नौलो, बीस दिन नपढे बिर्स्यो र तीस दिन नपढे तर्स्यो भनेझैँ विद्यार्थीले स्कुल र पढाइ नर्बिसीउन भनेर सञ्चालन गरिएको अनलाइन कक्षा केही हदसम्म राम्रै भएको उहाँहरुको भनाइ छ । 

अवसर र चुनौती दुबै 

सारा मानव जगत लकडाउनमा रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट शिक्षाबारे रहेका परम्परागत धारणा र सोचाइलाई परिवर्तन गर्ने यो सुवर्ण अवसर हो । साधनस्रोेत सीमित भएको अवस्थामा अहिले हामीले कल्पना गरेजस्तै सबै कुरा अनलाइनबाट गर्न नसकिएपनि यसबाट विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिकोणात्मक सम्बन्धलाई सुमधुर बनाउन सकिन्छ । साथै शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ बाटोमा डोर्याउन पनि सकिन्छ । 

शिक्षक र विद्यार्थीबीच भौतिक निकटताबिना शैक्षिक क्रियाकलापलाई पूर्ण रुपमा अगाडि बढाउन त्यति सहज नहोला । तर शिक्षक र अभिभावकबीच बलियो सम्बन्ध स्थापित गर्न र दैनिक कक्षाका अन्य पक्षसँग अभिभावकहरुलाई जोड्न अहिलेको समयले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आफ्ना छोराछोरीका शैक्षिकलगायत अन्य उपलब्धिबारे थाहा पाउन र शुल्क तिर्न अभिभावकहरुले विद्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने यो ठूलो अवसर पनि हो । 

यसले सहरका केही विद्यार्थीलाई समेटेपनि दूरदराजका बालबालिकालाई समावेशी गर्न नसकेको र अनलाइन मात्रै विकल्प हो भन्ने दृष्टिकोण गलत भएको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ । त्यस्तै मनोचिकित्सक ऋषभ कोइराला तालिका बनाएर घरमै खेल्ने, सुत्ने, व्यायाम गर्ने र पढ्नेलगायतका काम बालबालिकाबाट गराउन सकिने बताउनुहुन्छ । मोबाइल र टेलिभिजनमा बालबालिकाले बिताउने समयलाई घटाएर सिर्जनात्मक  क्रियाकलापमा लगाउन र सम्भव भएसम्म पहिलेजस्तै तालिकाबद्ध क्रियाकलापमा बालबालिकालाई अभ्यस्त गराउन पनि उहाँको सुझाव छ ।

पन्ध्रौँ योजनाको आधारपत्रअनुसार देशमा आर्थिक वर्ष  २०७४/०७५ सम्ममा इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्या ५५ प्रतिशत मात्र छ । अझै ४५ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचबाट टाढा छ । त्यसमा पनि गुणस्तरीय इन्टरनेट सेवाको पहुँच थोरैले प्राप्त गरेका छन् । लगभग १० प्रतिशत जनसङ्ख्या विद्युत सेवाबाट वञ्चित रहेको अवस्थामा अनलाइन कक्षा बहसमै सीमित हुने धेरैको तर्क छ ।    

अनलाइन कक्षाको लागि घर अनुपयुक्त  

अनलाइन कक्षाले बालबालिकालाई व्यस्त बनाउन केही सहज भएपनि त्यसको लागि घरमा उपयुक्त वातावरण नभएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ कीर्तिपुरकी सुनिता श्रेष्ठ । श्रेष्ठका एक छोरा र एक छोरी छन् । कोठा एउटा मात्रै छ । भान्छा कोठा, सुत्ने कोठा, वा पढ्ने कोठा जे भने पनि त्यही एउटा कोठा हो ।

‘छोराछोरीको पढाइ सकुन्जेल चुप लागेर बस्नुपर्छ । नत्र हल्लाखल्ला भइहाल्छ । त्यसले गर्दा पढाइमा असर पर्ने रहेछ । आमाबाबुअगाडि बस्दा उनीहरुलाई धक लाग्ने रहेछ । त्यसले उनीहरुको ध्यान पढाइमा जाँदैन,’ श्रेष्ठ भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘अनलाइन पढाइ हुनेखानेका लागि मात्रै हो । नियमित तरिकाले भनेकोजस्तो अलनाइन पढाइ हुँदैन । कहिले तीन दिनसम्म शिक्षक हराउँछन् । कहिले मोबाइलमा डाटाबाट पढ्दा ह्याक हुन्छ । कहिले हल्लाखल्ला र व्यवस्थापनमै समय बित्छ ।’  

दुर्गमको लागि आकाशको फल 

कोरोना भाइरसको कारण देशका सबै विद्यालय बन्द छन् । शैक्षिक क्यालेण्डरअनुसार चालु शैक्षिक सत्रको लगभग एक महिना बित्नै लाग्यो । देशका सहरी र सुविधासम्पन्न ठाउँहरुमा अनलाइन कक्षाबारे बहस भइरहँदा गाउँमा भने विद्यार्थीहरुको दैनिकी खेलकुदमै बितिरहेको छ । सहरजस्तो धेरै गाउँमा लकडाउनको स्थिति छैन । उनीहरुले औपचारिक पढाइलाई निरन्तरता दिने माध्यम पनि पाएका छैनन् । 

अनलाइन कक्षा राम्रो कि नराम्रो भन्नेमा आआफ्नै तर्क होला । सहजता र असहजताका फरक क्षेत्रहरु पनि होलान् । तर राम्रो कि नराम्रो भन्ने बहस गर्नुभन्दा शिक्षा क्षेत्रमा अनलाइन माध्यमको अधिकतम प्रयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानु बढी महत्वपूर्ण छ । विज्ञान र प्रविधिमैत्री शिक्षाको दाम्लो डोर्याउँदै अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न अनलाइन शिक्षालाई सदुपयोग गर्न सकिन्छ । त्यसको लागि स्रोत साधन नपुगेको ठाउँमा स्रोत साधन पुर्याउने र स्रोत साधन पुगेको ठाउँमा अनलाइन कक्षालाई बढीभन्दा बढी कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • mohan

    May 6, 2020, 10:05 a.m.

    आलेख राम्रो लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया