जंगली च्याउ खाँदा अर्घाखाँचीमा आमाछोरीको ज्यान गयो

 बैशाख २३, २०७७ मंगलबार १८:०:३२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - भुमिकास्थान नगरपालिका वडा नम्बर-६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गएको छ । 

आइतबार ज्यान गुमाएकी रामकला महत्राकी ७ वर्षीय छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गएको आइतबार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा ज्यान गएको थियो ।

छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राति ज्यान गएको मृतकका मामा हुमबहादुर रायमाझीले बताउनु भयो । 

जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा ज्यान गएको छ । च्याउ खानेमध्ये लालसरी महत्रा र लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो । 

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि किनेर खाएका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए । 

समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएकोमा दुई जनाको ज्यान गएको र दुई जनाको उपचार भइरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो  ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया