एकैपटक २७ वटा गाईलाई दिइयो सुत्केरी भत्ता

 साउन १४, २०७५ सोमबार १६:४७:५९ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भक्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो ।

अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता दिइएको छ । यस वडामा यसअघि रोजगार सिर्जना तथा मूल्य शृङ्खला विकास परियोजनामार्फत गाईहरुलाई पशु बीमा गरिएको परियोजना अधिकृत विचारसिं लावतीले वताउनुभयो ।

गाई सुत्केरी भएपछि तीन महिनासम्मकालाई भत्ता दिइएको छ । गाई पालनमा लागेका कृषकलाई हौसला प्रदान गर्नुका साथै  गाई सुत्केरी हुँदा स्याहार गर्न थप सहयोग पुगोस् भन्ने उदेश्यले सुत्केरी भत्ता दिन थालिएको वडाध्यक्ष बहादुरसिं नेम्बाङले वताउनुभयो । 

यो कार्यलाई आउँदो वर्षमा पनि निरन्तरता दिँदै जाने उहाँको भनाई रहेको छ । यस वडामा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ वटा र घुम्ती कोषबाट १० वटा गरी ६४ वटा उन्नत जातको गाई पालन गरिँदै आएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया