कसैले गेट आउट भन्दैमा पार्टी नेतृत्व छाडिँदैन : देउवा

 जेठ १३, २०७५ आइतबार १४:५९:७ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नुभएको छ ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पार्नु्भयो । पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्षपछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गर्नुभयो ।

सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गर्नुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहोर्‍याउनुभयो ।

सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउने प्र्रतिवद्धता दोहोर्‍याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराउनुभयो ।


सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस प्रतिवद्ध रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको भविष्य राम्रो रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

महामन्त्री कोइरालाले पार्टी एकतालाई बलियो बनाएर लैजाने काममा सहयोग गर्न प्रेस युनियनका नेतृत्वसँग पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया