पास पाएँ भन्दैमा फुरुङ्ग भएर गाडी नहाँक्नुस्, २५ दिनसम्म थुनिन सक्नुहुन्छ

 बैशाख २७, २०७७ शनिबार १९:५०:२१ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - लकडाउनमा अति आवश्यक पासको आधारमा चलाइएका गाडीबाहेक अरु गाडी सडकमा देखिएका छैनन् । अहिले सडकमा गाडी कम हुने भएकाले पास लिनेले तीव्र गतिमा गाडी चलाइरहेका छन् । तीव्र गतिकै कारण काठमाण्डौमा हालै भएको एक दुर्घटनामा मोटरसाइकल चालकले ज्यान गुमाउनुपर्यो । तीव्र गतिमा जथाभावी गाडी चलाउँदा लकडाउनमा मात्रै दुई सयभन्दा धेरै दुर्घटना भएका छन् । पास पाउँदैमा फुरुङ्ग भएर जथाभावी गाडी चलाउँदा दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछन् । अहिले नक्कली पास बनाएर, पासमा केरमेट गरी प्रयोजन र मिति सच्याएर तथा एउटा उद्देश्यले पास बनाएर अर्कै काममा गइरहेको पनि पाइएको छ । त्यस्ता गतिविधि गर्ने ३ जनालाई सम्बन्धित कसुरमा मुद्दा चलाइएको छ । यसै विषयमा केन्द्रित रहेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालसँग टेकमान शाक्यले कुराकानी गर्नुभएको छ ।

लकडाउनमा पनि गाडी दुर्घटनाका खबरहरु आएका छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले के कस्तो काम गरिरहेको छ ?

लकडाउनको समयमा सञ्चालन भएका अनावश्यक गाडीलाई हामीले रोकिरहेका छौँ । अति आवश्यक र पास भएका गाडीलाई मात्रै चल्न दिएका छौँ । गाडी धेरै नचल्दा सडक खाली देखिन्छ । अनुमतिप्राप्त गाडीमात्रै चल्दा उनीहरुको गति निकै तीव्र हुने गरेको कुरा साँचो हो । लकडाउनको यो अवधिमा सामान्यदेखि गम्भीर खालका २ सयवटाभन्दा धेरै दुर्घटना भएका छन् । कम गाडी हुँदा तीव्र गतिमा चलाउने भएकोले धेरैजसो दुर्घटनाहरु गम्भीर खालका नै भएका छन् । यसबीचमा ८/९ जनाले ज्यान गुमाउनुपरेको छ । 

पास भएपछि लाइसेन्स नभएकाहरुले पनि गाडी हाँकेको देखियो । जाँडरक्सी पिएर गाडी चलाउने २५ जनाजतिलाई नियन्त्रणमा लिएर कारबाही गर्यौँ । हामीले दुर्घटना हुन नदिन सकेसम्म गति सीमित गर्ने प्रयास गरिरहेका छौँ । त्यसका लागि विभिन्न चेक प्वाइन्ट खडा गरेर काम गरिरहेका छौँ ।

सडकमा कम गाडी भएपछि पास लिएर चलाइएका गाडीको गति निकै तीव्र हुँदा केही दुर्घटना भएको भन्नुभयो । गाडीको गति नियन्त्रण गर्न किन नसकिएको ? 

कोरोनाको सङ्क्रमण कम गर्न हुलका हुल गाडी गुड्नबाट रोक्नुपर्ने जिम्मेवारी छ नै । यसको साथसाथै दुर्घटनालाई रोक्न पनि हामीले जनशक्ति परिचालन गरिरहेका छौँ । दुर्घटना हुन नदिनका लागि हामीले प्रयास नै नगरेको होइन । ठाउँठाउँमा गति सीमित बनाउनका लागि गति नाप्ने र्याडर गनमार्फत पनि निरीक्षण गरिरहेका छौँ । ठाउँ ठाउँमा चेक प्वाइन्ट खडा गरेका छौँ तीव्र गतिलाई कम गर्नकै लागि । विभिन्न ४६ ठाउँमा संयुक्त चेक प्वाइन्टह राखेका छौँ । १ सय ५२ ठाउँमा ट्राफिक परिचालन गरेका छौँ । रातिको समयमा पनि ३९ ठाउँमा स्थायी  ड्युटी गरिरहेका छौँ । यी सबै ड्युटी र चेक प्वाइन्टले गति रोक्न र अनावश्यक आवतजावत रोक्नका लागि काम गरिरहेका छौँ । हामीले मात्रै गति सीमित बनाउने प्रयास गरेर हुँदैन । चलाउने पनि ध्यान दिनुपर्यो ।

लकडाउनको बेला सडक खाली हुँदा गाडी दुर्घटना धेरै हुने क्रम बढेकोले गाडी चलाउनेले के के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो कुरा, चालक आफैँले मैले तीव्र गतिमा गाडी चलाएँ भने आफ्नै ज्यानलाई धरापमा पार्दैछु भन्ने हेक्का राख्नुपर्यो । दोस्रो, ट्राफिक नियमको पालना गर्नुपर्यो । सडकमा भएका लेन, जेब्रा क्रसिङ, पार्किङ स्थलहरु छन् । कहाँबाट ओभर टेक गर्ने र कहाँबाट गाडी मोड्ने भन्ने कुरा सडकमा भएका सङ्केतहरुले देखाइरहेको हुन्छ । त्यसलाई राम्रोसँग हेर्नुपर्यो । गाडी छैन भनेर हेलचेक्र्याइँ गर्नुभएन । मेरो मात्रै त हो नि गाडी भनेर गतिलाई तीव्र बनाउनुभएन । तेस्रो कुरा, ट्राफिक जाँचका क्रममा आफूले इमानदारिता देखाउनुपर्यो । ट्राफिकलाई सहयोग गरिदिनुपर्यो । हाम्रा चेक प्वाइन्टहरु जति पनि छन्, गाडी चलाउनेहरुकै जीवन रक्षाका लागि राखिएको हो । ट्राफिक प्रहरीले आफ्नै लागि काम गरिरहनुभएको छ भन्ने कुरा गाडी चलाउनेहरुले बुझिदिनुपर्यो । यी कुराहरुमा चालक स्वयंले ध्यान दिने र खटिएका ट्राफिकले पनि जिम्मेवारी पूरा गर्ने हो भने दुर्घटनाबाट बच्न सकिन्छ ।

यो लकडाउनमा गाडी चालकले पास देखाउनेबित्तिकै गाडीलाई छाडिदिनु हुन्छ कि अरु पहिचान पनि गर्नुहुन्छ ?

तपाईंले ठिक कुरा गर्नुभयो । पास लिएर गाडी चलाउन पाउँदैमा के के नै भएको ठान्नेहरु पनि छन् । पास भनेको जरुरी काम र तोकिएको कामको लागि मात्रै हो । तोकिएको दिन सकिएपछि पनि त्यो पास बोकेर अन्यत्र हिँडेको हामीले पाएका छौँ । लकडाउनको अवधिमा अहिलेसम्म पासको दुरुपयोग गर्ने २३ सयभन्दा धेरै जनालाई कारबाही गरेका छौँ । पास बोकेकै भरमा तपाईंले भन्नुभएजस्तो त्यत्तिकै छाडेका छैनौँ । पास लिइएको छ भने कुन कामको लागि र कुन ठाउँमा जाने भनेर सोधपुछ गर्ने गरेका छौँ । जाने ठाउँ बताएपछि त्यो ठाउँमा फोन गरेर पनि सोध्ने गरेका छौँ । उनीहरुलाई रोकेर सबै मूल्याङ्कन गरेर मात्रै छाड्ने गरेका छौँ । सोधपुछको क्रममा गलत प्रयोजनमा निस्केको र अनावश्यक हिँडेको पाइयो भने कारबाही गर्ने गरेका छौँ ।

यो अवधिमा पास दुरुपयोगका के कस्ता घटना पाउनुभएको छ ?

भक्तपुरमा काम छ भनेर पास लिने तर काठमाण्डौ र ललितपुरतिर डुलिरहेको पनि हामीले देख्यौँ । पास लिएर हाइकिङ जाने गरेको पनि कतिपय भेटिए । बुढानिलकण्ठ र कीर्तिपुरलगायत ठाउँको बेस लाइनतिर लगेर गाडी पार्किङ गरी हाइकिङ जानेहरुलाई पनि हामीले फेला पारेर कारबाही गरेका छौँ । पास लिएपछि म जहाँ जाँदापनि कसैले केही गर्न सक्दैन भन्ने मानसिकताबाट ग्रसित भएकाहरु धेरै भेट्यौँ हामीले । कीर्तिपुरमा राहत वितरणमा जान लागेको भनेर कसैले बताउँछ भने हामीले कीर्तिपुरमा फोन गरेर हो की होइन भनेर सोध्ने गरेका छौँ । हामीले गाडीलाई पासकै भरमा छाड्ने गरेका छैनौँ । छड्के जाँच गर्दा बहानाबाजी या भनौँ फर्जी गरेको पाइएकाले २३ सयभन्दा धेरै जना कारबाहीमा परेका हुन् । त्यसैले पासलाई मात्रै अन्तिम आधार मानेका छैनौँ ।

यीबाहेक अरु घटनाहरु पनि ट्राफिक प्रहरीले पहिल्याएको छ कि ?

कतिपय औषधिका कार्टुन राखेर हिँडेका मोटरसाइकलमा जाँच गर्दा औषधि नै भेटिएन । स्कुटरमा तरकारी बोकेको भनेर ओइल्याएको मुला हालेर हिँडेकालाई पनि हामीले समातेका छौँ । राहत बाँड्ने निहुँमा गाडीको पछाडि २ बोरा चामल राखेर अर्कै प्रयोजनको लागि हिँडेको पनि पायौँ । यस्ता बहानाबाजी गर्नेहरुलाई रोकेका छौँ । पासको प्रयोजन सच्याउने, मिति सच्याउनेहरु पनि भेटिएका छन् ।

उनीहरुविरुद्ध केकस्ता कारबाही प्रक्रिया बढाउनुभएको छ ?

सुरुमा त्यस्ताहरुबाट पास जफत गरेर उनीहरुको गाडीलाई २ देखि ३ दिनसम्म होल्ड गरिदिने गरेका छौँ । केहीलाई हामीले समाएर मुद्दा पनि चलाएका छौँ । लकडाउनमा त्यस्ता गतिविधि गर्ने ३ जनालाई त मुद्दा चलाएका छौँ । पास नक्कली बनाएका, पासमा केरमेट गरेर प्रयोजन र मिति सच्याएका तथा एक प्रयोजनको लागि लिइएको पासलाई अर्कै प्रयोजनमा प्रयोग गरेकालाई हामीले मुद्दा चलाएका छौँ ।

नियम उल्लङ्घन गर्नेलाई ३ दिनसम्म होल्ड गर्ने गरेका छौँ । किर्ते काम गरेको छ भने उनीहरुलाई किर्ते मुद्दा चलाउँछौँ । सङ्क्रमण तथा रोग नियन्त्रण ऐन २०२० अन्तर्गत पनि कारबाही गर्न सकिने प्रावधान छ । सकेसम्म नागरिकलाई दुःख नदिउँ भन्ने हो । तर, अटेर गर्नेहरुलाई यी मैले भनेका कारबाही हुन्छ नै । अहिलेको यो विषम परिस्थितिमा हेलचेक्र्याइँ नगरौँ भन्न चाहन्छु । भन्दाभन्दै पनि अटेरी गर्नेलाई हामीले त्यसै छाड्न सक्दैनौँ । विभिन्न कानुनअनुसार कारबाही गर्छौँ ।
लकडाउनमा ट्राफिकलाई झुक्याएर कसैले गाडी चलाइरहेको छ भने त्यसलाई प्रहरीले २५ दिनसम्म थुनामा राखेर कुन कसुर गरेको हो त्यहीअनुसार मुद्दा चलाउन सक्छ । उसलाई सरकारी वकिलको कार्यालयमा पेश गरिन्छ । कसुर गरेको व्यक्ति धरौटी बुझाएर रिहा हुनुपर्ने हुन सक्छ । 

लकडाउन अलि खुकुलो गरिएसँगै केही कार्यालय खुलेका छन् । त्यसले गाडीको चाप बढ्न थालेका छन् । यही रफ्तारमा गाडी चल्ने हो भने लकडाउनको औचित्य नै के होला र । यसमा कडाइ गर्नुपर्ने जरुरत देख्नुभएको छैन ?

लकडाउनमा पछिल्लो समय तपाईंले भन्नुभएजस्तै केही गाडीहरु थपिएका छन् । अति आवश्यक सामान किनमेलका लागि घरघरमा पुग्ने गाडीहरु बढेका छन् । वडाहरुमा राहत वितरणका गाडीहरु हिँडिरहेका छन् । पास लिएर काठमाण्डौ बाहिरबाट काठमाण्डौ छिर्ने गाडीहरु पनि बढेका छन् । अदालन, सरकारी कार्यालय र बैंक वित्तीय संस्थाहरु खुलेकाले तीसँग सम्बन्धित गाडीहरु पनि बढेका छन् । नागरिकले हामीलाई फोन गरेर समस्या बताउँदा त्यो समस्या फुकाउने क्रममा पनि गाडीको चाप बढिरहेको छ ।

सरकारले साना उद्योगहरु सञ्चालन गर्न दिने भनेको छ । त्यसले पनि गाडीहरु बढेका छन् । यी कारणले गाडीको चाप बढेको हो । यसलाई रोक्न हामीले पहिलो नम्बरमा सबैलाई आफैँ सजग हुनुहोस् भनिरहेका छौँ । दोस्रो, अनावश्यक गाडी चल्न नदिन व्यापक रुपमा जनशक्ति परिचालन गरेका छौँ । तेस्रो, हामीले सरोकारवाला निकायसँग उनीहरुले सञ्चालन गर्ने गाडी सङ्ख्यालगायतबारे समन्वय गरिरहेका छौँ । खुलेका कार्यालयहरुमा पनि एक तिहाइ कर्मचारीलाई मात्रै निस्कन दिने भनिएको छ । कार्यालयका एक चौथाइ गाडीलाई मात्रै गुड्न दिनेगरी समन्वय गरेका छौँ । कोरोनाबाट बच्न गाडी आवातजावतमा कडाइ गर्नुपर्ने देखेर हामीले घनीभूत तवरले काम गरिरहेका छौँ ।

कोही व्यक्ति अति आवश्यक कामले बाहिर निस्कनुपर्ने छ भने के गर्नुपर्छ ?

नियमित काम गर्नेहरुका लागि सरकारले पासको व्यवस्था गरेको छ । अचानक कोही व्यक्ति कतै जानुपर्ने अवस्था आइलाग्यो भने उनीहरुका लागि जिल्ला प्रशासन कार्यालयले इ–पासको व्यवस्था गरेको छ । सरकारले आवश्यकता महसुस गरेपछि उनीहरुले अति आवश्यक पास पाउनुपर्ने छ । काठमाण्डौभित्र एकदमै जरुरीको काम पर्यो भने १०३ नम्बरमा फोन गर्नुपर्छ । हामी समस्या बुझेर  सुल्झाउने प्रयास गर्छौँ ।

अनावश्यक पास लिएर दुरुपयोग गर्ने, तिब्र गतिमा गाडी चलाउने, पासमा केरमेट गरेको पाईयो भने हामीले उसलाई समातेर अवस्था हेरेर २५ दिनसम्म थुनामा राखेर मुद्दा चलाउनेसम्मको अवस्थामा पुग्नेछौँ । पास पाएँ भन्दैमा फुरुँग भएर जे जे मन लाग्यो त्यहि नगर्नुहोला । तपाईलाई अति आवश्यक परेको खण्डमा कसरी हुन्छ सहज बनाउने काम त हामी गरि नै रहेका छौँ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया