उपत्यकामा सामान्य अवस्थामा झैँ गाडीकाे चाप

 बैशाख २८, २०७७ आइतबार १४:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यका आज सामान्य अवस्थामा झैँ गाडी चलेका छन् ।आइतबारदेखि देशभरका बैंक तथा वित्तीय क्षेत्रका शाखासँगै सरकारी कार्यालय र अति आवश्यक पर्ने उद्योग खुल्न थालेपछि गाडी चल्न थालेका हुन् । 

आइतबारदेखि सरकारले कम्पनी र संस्थाका एक चौथाइ गाडी सञ्चालन गर्न अनुमति दिएको छ । काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि गएकाे चैत ११ गतेदेखि लकडाउन भएपछि धेरैजसो घरभित्रै थिए । तर गएको बुधबारको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक कलकारखाना र उद्योगसँगै सेवामूलक संस्था खोल्ने निर्णय गरेपछि गाडीको आवागमन बढेको हो । तोकिएको अवधिमा गाडी चलाउन पाइने भएपछि उपत्यकामा गाडीको सङ्ख्या बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

तर अनुमति नलिइकन र पास नभइ गाडी चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । महाशाखाले आफूखुसी गाडी चलाउनेलाई नियन्त्रणमा लिइरहेको जनाएको छ । प्रहरीले अहिलेसम्म ४० वटा गाडीलाई होल्ड गरेको छ । यी गाडी बेलुका मात्रै सम्बन्धित चालक वा गाडी धनीलाई जिम्मा लगाइने छ । 

आइतबारदेखि काठमाण्डौ उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू गरिएको छ । बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्याइएकाे छ । 

त्यस्तै अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ । बैंक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ । तोकिएको यी समयमा कार्यालय वा संस्थाका सबै गाडी चल्न भने पाउने छैनन् । 

तोकिएको समयमा हरेक कार्यालय वा संस्थाका एक चौथाइ गाडीलाई चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) भीम ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया