काठमाण्डौ भित्रिने नाकामा बन्यो गाडीहरुका लागि डिस्इन्फेक्सन टनेल

 बैशाख २९, २०७७ सोमबार १३:२७:३१ | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - गाडीहरुबाट हुन सक्ने कोरोनाको जोखिम कम गर्न काठमाण्डौ भित्रिने मुख्य नाकामा डिस्इन्फेक्सन टनेल बनाइएको छ । काठमाडौ भित्रिने नागढुङ्गा र जगाती दुई ओटा नाकामा सुन्दर यातायात प्रालिले डिस्इन्फेक्सन टनेल बनाएको हो । 

सुन्दर यातायात सञ्चालक समिति, कर्मचारीको तलब र सुन्दर यातायात प्रालिको कोषको रकमबाट प्रति टनेल दुई लाख पचास हजार रुपैयाँको लागतमा टनेल बनाइएको सुन्दर यातायात प्रालीले जनाएको छ । 

टनेलले कसरी काम गर्छ ?

नागढुङ्गा र जगाती भएर काठमाण्डौ भित्रिने एकतर्फी गाडीहरुका लागि मात्रै टनेल बनाइएको छ । यसरी बनेको टनेलमा गाडी भित्र छिर्छन् र गाडीको बाहिर भागमा सोडियम हाइड्रो क्लोराइड, स्वीमिङ पुलमा प्रयोग हुने केमिकल र पानीको घोल छर्किइन्छ । त्यसपछि टनेलबाट निस्किने गाडी कोरोनाको जोखिमबाट निर्मूल भएर बाहिर आउँछ । 

मानिसलाइ प्रत्यक्ष रुपमा यो घोल छर्किन नमिल्ने भएकाले टनेलमा गाडी मात्रै प्रवेश गराइन्छ । मोटरसाइकल र मानिसलाई टनेलमा जान दिइँदैन । डिस्इन्फेक्सनको घोल गाडीको बाहिरी बनोटमा मात्रै  छर्किइन्छ । 

काम कसरी भइरहेको छ ?

२४ सै घण्टा चल्ने यो टनेलमा दैनिक भित्रिने गाडीहरुका लागि ४–५ हजार लिटर डिस्इन्फेक्सन औषधिको प्रयोग गरिने सुन्दर यातायातका अध्यक्ष भेष थापाले बताउनुभयो । 

फर्पिङ र नुवाकोट भएर काठमाण्डौ भित्रिने नाकामा पनि टनेलबनाउनको लागि काम सुरु भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सरकारको तर्फबाट टनेल सञ्चालनका लागि पानी, विद्युत र पानीको ट्याङ्की मात्रै सहयोग गरेको उहाँले बताउनुभयो । टनेल बनाउन लागेको रकम, उपकरण, प्राविधिक काम सबै सुन्दर यातायातले गरेको हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया