‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर : कालापानी, लिपुलेक हाम्रो हो’ भन्दै नारा लगाउने पक्राउ

 बैशाख ३१, २०७७ बुधबार २०:३४:० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भारतले नेपाली भूमि लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएकोमा विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

भारतले नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा समूहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र पावीहाङ राई रहेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बुधबार भोजपुर सदरमुकामको जिरो प्वाइन्टमा समूहले ‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापानी, लिपुलेक हाम्रो हो’ भन्ने नारासहित विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका थिए । देशको सीमा बचाउ अभियानमा लागेका उनीहरुलाई सरकारले बलपूर्वक पक्राउ गरेको आरोप लगाएका छन् । 

शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा पनि प्रहरीले बलपूर्वक पक्राउ गरेको संयोजक गोपाल मोक्तानले आरोप लगाउनुभयाे । प्रहरीले भने लकडाउनको अवज्ञा गर्दै सरकार विरोधी प्रदर्शन गरेकाले उनीहरुलाई  नियन्त्रणमा लिएको बताएको छ । 

लकडाउन र सरकार विरोधी गतिविधि गरेकाले गृह मन्त्रालयको निर्देशन पालना गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) पाण्डव राजवंशीले  बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया