प्रदेश ७ को राजधानी र नामाकरणका लागि समिति गठन

 साउन १५, २०७५ मंगलबार १०:३४:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेशसभाले पूर्णता पाएको लामो समयपछि प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि विशेष समिति गठन गरिएको छ । गएको महिना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा संचालन भएको लामो समय वितिसक्दा पनि राजधानीको नाम र स्थानाबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरिएको बताउनुभयो ।

उहाँका अनुसार समितिमा संयोजक तारालामा तामाङ, प्रदेश सांसद बलदेव रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् । समितिमा रहेका अधिकांश सांसदहरु नेकपाबाट निर्वाचित भएका हुन् भने श्यामलाल राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।

विशेष सुझाव समितिलाई ७ दिनभित्र प्रदेशको नामाकरण र राजधानी बारे प्रतिवेदन तयार गरी पेश गर्न भनिएको सभामुख थापाले जानकारी दिनुभयो । ‘सरकोरवाला सबै पक्षसँगको छलफल र सहयोगमा प्रतिवेदन पेश गर्न सुझाव दिइएको छ, कुनै पनि क्षेत्रलाई मर्का नपर्ने प्रतिवेदन मागिएको छ’ उहाँले भन्नुभयो ।

समितिका संयोजक तारालामा तामाङले सभामुखसँग परामर्श गरी कार्यविधि तयार गर्ने बताउनु भयो । उहाँले तोकिएको समयसीमा भित्रै सम्बन्धित सबै सरोकारवाला पक्षसँगको सहकार्यमा विवाद रहित स्थान र नामाकरणसहित प्रतिवेदन पेश गर्ने जानकारी दिनुभयो ।

संयोजक लामाले प्रदेश ७ का सबैलाई मान्य हुने गरी नामाकरण र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा सुक्ष्म तरिकाले विज्ञहरुसँगको सहकार्यमा तोकिने बताउनु भयो । अहिले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया